कपन बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा दलहरुले कस्ता कार्यकर्तालाई पठाए ?
कपन अनलाइनसामुदायिक स्कूल तथा कलेजमा राजनीतिक दलहरुले व्यवस्थापन समिति आफ्ना कार्यकर्ता भित्र्याउनु अब नेपालको सन्दर्भमा सामान्य र नैतिक कुरा बनिसकेको छ । सामुदायिक स्कूल र कलेजमा हुने यिनै राजनीतिक नियुक्तिले यी संस्थाहरुको शैक्षिक तथा अन्य गुणस्तर पनि विग्रिरहेको देखिन्छ । कपनमा रहेका सामुदायिक स्कूल तथा कलेज पनि राजनीतिको यो पाटोबाट अछुतो छैन । यहाँ पनि विद्यालयाहरुमा कुन पार्टीले व्यवस्थापन समितिको अध्यक्ष चलाउने वा कसको कति सदस्य रहने विषयमा हाता हालाहालसम्म हुने गरेको घटना सामान्य मानिन्छ ।
यसैक्रममा कपनको पहिलो क्याम्पस कपन बहुमुखी क्याम्पसको व्यवस्थापनको समितिमा हालै राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न पठाएका छन् । एकवर्ष अघि बनेको राजनीतिक व्यवस्थापन समितिलाई ठूलो बनाउन यो नियुक्ति गरिएको हो । हरेक दलहरुले २ – २ जनाका दरले पठाएका अनुहार यस्ता छन् ।
१. एमाओवादीः देशको सबैभन्दा ठूलो पार्टी भनेर गर्जिने एमाओवादीले आफ्नो पार्टीका तर्फबाट भर्खरै एमालेबाट पार्टी प्रवेश गरेका ठाकुरप्रसाद खकुरेल र सुवास राइलाई कपन बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका सदस्यमा पठाएको छ । ठाकुरप्रसाद खकुरेल हालै आवकास लिनु पूर्व विद्यालयमा शिक्षण पेशामा संलग्न थिए । रामहिटिमा रहेको नवजागृती माविमा अहिले पनि व्यवस्थापन समितिका अध्यक्षको रुपमा उनी सक्रिय छन् । आफूलाई शिक्षासेवी, समाजसेवी मान्ने खकुरेल, शिक्षण क्षेत्र व्यवस्थापनमा राम्रा व्यक्तिको रुपमा कपन क्षेत्रमा चिनिन्छन् । त्यसैगरी सुवास राइको शैक्षिक पृष्ठभूमि थाहा हुन नसके पनि कपन काम गर्ने राजनीतिक व्यक्तिको रुपमा चिनिन्छन् । सुवास राइ एमाओवादी भए पनि कपनमा सबैले रुचाउने व्यक्तिको रुपमा पनि चिनिन्छन् ।
२. नेपाली कांग्रेसः यो पार्टीले कपन बहुमुखी क्याम्पसमा विश्वनाथ दाहाल र तेजकुमार के.सी.लाई पठाएको छ । कांग्रेस पार्टीका क्रियाशिल सदस्य रहेका विश्वनाथ दाहाल वकालत पेशामा संलग्न व्यक्ति हुन् । कपनका करिब १० संघसंस्थामा कानुनी सल्लाहकारसमेत रहेका दहाल शान्त र भद्र प्रकृतिका मानिन्छन् । त्यसैगरी निजामति क्षेत्रका जागिरे तेजकुमार के.सी. नेपाल निजामति कर्मचारी युनियन, बिभागीय कार्यसमिति अर्थमन्त्रालयका अध्यक्षसमेत हुन् । कपनमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन् ।
३. नेकपा एमालेः यो पार्टीले कपन बहुमुखी क्याम्पसमा आर एम डंगोल र पुरुषोत्तम नेपालललाई पठाएको छ । कपनमा सबैभन्दा बढि बौद्धिक व्यक्ति एमालेमा छ भनिएको अवस्थामा कपन बहुमुखी क्याम्पसमा उसले पठाएको आर एम डंगोल प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य हुन् । उनी कलेज पनि पढाउँछन् र साहित्यिक पत्रिका पनि सम्पादन गर्छन । कपनमा मृत अवस्थामा रहेको कपन साहित्य समाजका उपाध्यक्षसमेत रहेका डंगोल कपनको सामाजिक जीवनमा भने निश्क्रिय व्यक्ति हुन् । त्यसैगरी पुरुषोत्तम नेपाल बचत तथा ऋण सहकारी क्षेत्रका व्यक्ति हुन् । स्कूलहरुमा अध्यापन गराउने काममा पनि सक्रिय यी युवा केही समयअघिसम्म कपन एमालेको सहसचिव थिए ।
४. नेकपा–माओवादी ः यो पार्टीको आकार कत्रो छ भनेर नदेखिए पनि देशभर यतिखेर सबैभन्दा असरदार पार्टी भएकोले कपनमा पनि यस पार्टीको असर स्वभावतः महत्वपूर्ण रहेको छ । यस पार्टीले कपन बहुमुखी क्याम्पसमा सुरेशकुमार कटुवाल र अशोकराज पाण्डेलाई प्रतिनिधिको रुपमा पठाएको छ । सुरेशकुमार कटुवाल शिक्षण पेशका व्यक्ति हुन् । उनी महांकालको जनकल्याण उच्च मा वि मा अध्यापन गर्दछन् । त्यसैगरी अशोकराज पाण्डे कपनमा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुमा सबैभन्दा प्रभावशाली युवा मानिन्छन् । कपनको वातावरण तथा फोहरमैला व्यवस्थापन समितिका संयोजक पनि रहेको उनलाई कपनबाट भविष्यमा ठूलो नेता बन्न सक्ने मानिसको रुपमा हेरिने गरिन्छ । स्नातकोत्तर तह अध्ययनरत यी युवा कपन अनलाइन डिजिटल पत्रिकाका सदस्य पनि हुन् ।
१ वर्षअघि बनेको व्यवस्थापन समितिमा विभिन्न पार्टीका कार्यकर्ता सम्मिलित ९ सदस्य थिए । त्यो समितिमा यी माथि उल्लेखित व्यक्तिहरु थपिने जानकारी कलेजकी प्रथम प्रिन्सिपल बिन्दु ढुंगानाले कपन अनलाइनलाई बताइन् । उनका अनुसार नयाँ सदस्यहरुको प्रथम बैठकले अन्य तीन सदस्य मनोनित गर्नेछ हाल बिएडको कक्षा संचालन भैरहेको यस कलेजमा बिबिएस र बिए कक्षाको संकाय थप गर्न त्रिभुवन विश्वविद्यालयसँग पहल भैरहेको छ । हाल यस क्याम्पसमा ३७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसअघिको व्यवस्थापन समितिमा एमाओवादीका तर्फबाट डम्बर अधिकारी, राजु अधिकारी, नेपाल कांग्रेसका तर्फबाट डिल्लिप्रसाद डोटेल, नारायण काफ्ले, एमालेको तर्फबाट कुमारप्रसाद ओझा र केदार पुडासैनी, नेकपा माओवादीका तर्फबाट शारदा आचार्य सुवेदी रहेका छन् । एमालेका कुमारप्रसाद ओझा व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । त्यसैगरी बालउद्धार माविका प्रिन्सिपल अर्जुन पौडेल र स्थानीय समाजसेवी खिलानाथ अधिकारी पनि व्यवस्थापन समितिका सदस्यमा रहेका छन् ।