नेपाली राजनीतिमा गगन थापा

नेपाली राजनीतिमा गगन थापा
कपन अनलाइन 
काठमाडौ,मंगसिर १७ /विचार /डिकेन्द्र ढकाल
कसैले भनेका छन्, “देश नेताहरुले बनाउने होइन, नेताले बनाउने हो ।” हामीले छोटो समयमा कतै नअलमलिकन धेरै विकास हासिल गर्नु छ । त्यसैले हामीलाई भविष्यदृष्टि सहितको आदर्श नेतृत्व (भिजिनरी एवं रोल मोडेल लीडरशिपको) आवश्यकता छ । भिजिनरी नेता पाए मुलुक बन्न बेर लाग्दैन ।
हामीलाई खट्केको मात्र एउटा दृढ इच्छाशक्ति भएको, भविष्यदृष्टि सहितको कुशल नेतृत्व हो । हामीलाई देश विकासलाई एउटा पवित्र मिसन बनाएर ठोस योजना सहित अविचलित भएर लाग्ने नेतृत्वको अभाव हो ।
अहिले हाम्रो सामू चुनाव छ । हामी भविष्यदृष्टि सहितको आदर्श नेतृत्व (भिजिनरी नेता) छान्ने कि अमुक दलको सामान्य कार्यकर्ता छान्ने ? हामीले गरिबी र अचेतनाको यथास्थितिमा राजनीति गर्ने पात्र छान्ने कि संवृद्धि र चेतनाको राजनीति गर्ने पात्र छान्ने ? हामीलाई समयको सुविधा पटक्कै छैन ।  ४/ ५ बर्षमै गरेर देखाउने नेतृत्व चाहिएको छ । हामीलाई अवश्य पनि आर्थिक बृद्धि चाहिएको छ तर सामजिक न्याय सहितको । हाम्रो लोकतन्त्र अब कसैले खोस्न सक्तैन । लोकतन्त्रबारे राजनितिक बहस जरुरी छैन अब । लोकतन्त्रको जीत भइसकेको छ । अब हामीले विजय प्राप्त गर्नु पर्ने गरिवीविरुद्ध हो । गरिवी र अचेतनालाई यथास्थितिमै राखेर राजनीति गर्न चाहने बिरुद्ध हो ।
हामीसँग भिजिनरी नेता छैनन्, राजनेता छैनन् भनेर गफैमात्र गरेर बसे हामीले कहिल्यै नेता पाउँदैनौं ।  नेपाली राजनीतिमा त्यस्ता केही आशा लाग्दा ‘फिगर’हरु झुल्किसकेका छन् । ती मध्ये एक हुन्, गगन थापा । अमर्त्य सेनको कल्याणकारी अर्थशास्त्रबाट प्रभावित र बिपीको समाजवादलाई कल्याणकारी पूँजीवादको रुपमा व्याख्या गर्ने गगन दर्शन र वादका छलफलभन्दा पनि “डेभलपमेन्ट डिस्कोर्स” (विकास विमर्श) गर्न रूंचाउँछन् ।उनीसँग “परोपकारी विकास”का योजना छन्, अर्थशास्त्रीको भाषामा लोककल्याणकारी राज्यव्यवस्थाका खाका छन् । उनी आर्थिक विकास चाहन्छन्, तर सामजिक न्याय सहितको ।
आज युवाहरु माझ राजनीतिप्रति घृणा र विद्वेष जागेको छ । असल नेतृत्वको अभावमा राजनीतिमा हुने यही हो । यसलाई सुधार्न हाम्रो साझा दायित्व  छ । कि हामीले असल नेतृत्व चयन गर्नु प-यो वा खराबबाट शासित भएर चित्त बुझाउनु प-यो ।
हामी नेपालीको साझा सपना पूरा गर्न हामीले इमान्दरिताका साथ काम गर्नु पर्दछ । र त्यो इमान्दारिता हामीले चुन्ने उम्मेद्वार, उसको व्यवहार र जनताको खबरदारीमा निर्भर गर्दछ ।  चुनावमा सबैले मिठा कुरा गरेर घरदैलो गर्छन्, भाषण गर्छन् र जब चुनाव सकिन्छ सबै कुरा सकिन्छ । यसो हुन नदिन गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग नियमित अन्तरक्रिया गर्न, भेटघाट गर्न, विकास निर्माणका समस्या सुन्न र सुल्झाउन निम्ति  बिगत ४ वर्षदेखि कुशल व्यवस्थापक/प्रशासक र  विषयगत दक्ष विशेषज्ञहरु भएका अतिरिक्त संसद कार्यालय स्थापना गरेका छन् र यसैमार्फत क्षेत्र, काठमाडौ उपत्यका सहर/जिल्लाको विकासका लागि काम गरेका छन् ।
हामीकोमा राजनीति गर्नेहरु वर्षौंदेखि उही समस्याहरुका कुरा गरेर थाक्दैनन् । महँगी, लोडशेडिंग, खानेपानीको अभाव, यातायातको असुविधा, स्वास्थ्य, शिक्षा र रोजगारी आदिका समस्या ! अनि उनीहरु यी समस्या समाधान नहुँदा अरुको टाउकोमा दोष थोपारेर पन्छिन खोज्दछन् । यो राजनितिक अपसंस्कृतिको अन्त्य हुनै पर्दछ ।
नेतृत्व गर्नेले जिम्मा लिनै पर्दछ र जनताप्रति जवाफदेहिता वहन गर्नै पर्दछ । गगन थापा त्यो जिम्मेवारी लिन र जवाफदेहिता वहन गर्न तयार छन् । हाम्रो मूल समस्या इमान्दारिताको अभाव हो । इमान्दारिताका साथ काम गर्ने हो भने हाम्रा कुनै पनि समस्या त्यति ठूला छैनन् ।
 गगन थापाले सांसद बनेर आफ्नो निर्वाचन क्षेत्रमा थालनी गरेका विकास संरचना र कतिपय पूरा भइसकेका परियोजनालाई हेर्दा र स्वास्थ्य मन्त्री बनेर छोटो समयमा गरेर देखाएका कामबाट के निश्कर्ष निकाल्न सकिन्छ भने उनलाई जिम्मेवारी प्रदान गरेमा उनी चुनौति लिन सक्छन् र कुशल नेतृत्वको अभावलाई पूर्ति गर्ने क्षमता राख्छन् ।
गगन थापाबाट उनी सम्बद्ध दल, अन्य दल र राजनीतिबाहिरका धेरै नेपालीले  ठूलो आशा गरेका छन् । मैले सुरुमा उल्लेख गरेर भनिसकें, आखिरमा गर्ने एउटै व्यक्तिले हो। गगन काम गरेर देखाउन पाउने स्थानमा पुग्न सकेमा उनले यथास्थितिमा परिवर्तन ल्याउन सक्छन् भन्ने कुरा भर्खरै स्वास्थ्यमन्त्री भएर मुलुकको स्वास्थ्य क्षेत्रमा दूरगामी प्रभाव पार्ने काम गरेर देखाइसकेका छन् । उनीसँग कल्याणकारी लोकतन्त्रमा आधारित देशनिर्माणका खाका छन् ।
देश निर्माणको नेतृत्व एउटैले गर्ने  हुँदाहुँदै पनि प्रजातन्त्रमा देशनिर्माणको जिम्मा जनता मै हुन्छ । उनलाई अवसर दिने त जनताले नै  हो । हामीले गरीबी र अचेतनाको यथास्थितिमा राजनीति गर्ने पात्र छान्ने कि समृद्धि र चेतनाको राजनीति गर्ने पात्र छान्ने ? प्रत्येक निर्वाचन भनेको “चुनाव” अर्थात् छनौट हो र यस पटक तपाईंको मत गर्ने छनौट मुलुकको भाग्य निर्माण गर्न ऐतिहासिक हुन सक्दछ ।
तपाइँको प्रतिक्रिया ।