नेपाली कांग्रेस कपन युवाहरुको भेलामा ३०० युवाहरु साधारण सदस्य बने
कपन अनलाइनलामो समयपछि कपन कांग्रेसले औपचारिक कार्यक्रम राखेको छ । युवा भेला तथा युवा भेला पूर्णता नामको कार्यक्रम राख्दै कपन कांग्रेसले विभिन्न रुपमा छरिएर रहेका युवाहरुलाई पार्टीमा समावेश गरेको छ । असार १५ को सांस्कृतिक अवसर पारेर दहिचिउरा खाने कार्यक्रमसमेत राखेर आयोजना गरिएको कार्यक्रममा प्रमुअ अतिथिको रुपमा फेरि एकपटक गगन थापा कपन आइपुगेका थिए । कपनमा हुने सबैजसो नेपाली कांग्रेसको कार्यक्रममा गगन थापा नै मुख्य व्यक्ति बनाइने परम्परा नै बसेको देखिन्छ । त्यसैगरी कपनमा बसोबास गर्ने अर्की केन्द्रिय सदस्य सीता गुरुङ विशिष्ट अतिथिको रुपमा उपस्थित थिइन् ।
कपन नेपाली कांग्रेसका युवा समितिका संयोजक दिलिप खत्रीलगायत रंजित केसी र सुमन थापाको व्यवस्थापन गरिएको यस कार्यक्रममा करिब ३०० युवाहरुलाई साधारण सदस्यता दिएर पार्टी प्रवेश गराइएको थियो । सामान्यतया पार्टी प्रवेश गराउँदा माला, खादा तथा अबिर लगाउने प्रचलन रहे पनि सो कार्यक्रममा प्रमुअ अतिथि तथा विशेष अतिथिको हातबाट नवप्रवेशीहरुले नेपाली कांग्रेसको साधारण सदस्यता लिएका थिए ।
नेपाली कांग्रेस कपन सभापति विनोद चालिसको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा बोल्दै गगन थापाले युवाहरु नैतिक र सामाजिक हुन जोड दिँदै अहिलेका युवाहरुभित्र रहेको उर्जालाई नेपाली कांग्रेसले लठैत कार्यकर्तामात्र नबनाउने बताए । युवाहरुलाई पार्टीमा प्रवेश गराउनको नाममा दिइने अनावश्यक आश्वासनहरुको उनले बिरोध गरे । त्यसैगरी पूर्व सभासद् सीता गुरुङले अहिलेको संक्रमण नेपाली कांग्रेस बलियो नभएकोले उत्पन्न भएको हँदा नेपाली कांग्रेस बलियो नभई देश सबल नहुने बताएकी थिइन् ।
कार्यक्रममा कपन कांग्रेसका आत्माराम पौडेल, केशव ढकाल, रामकृष्ण केसि, अच्यूत पौडेल, राजाराम बुढाथोकीलगायत महासमिति, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय सदस्यहरुसहित स्थानीय ने.का. कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।