कपन गाविसको अनुगमन समितिमा एमाओवादीको तर्फबाट सञ्जय अर्यालको ठाउँमा मुरारी भण्डारी
कपन अनलाइनलामो समयदेखि पहिलो बैठकसमेत बस्न नसकेको एमाओवादी कपन कमिटिको पहिलो पूर्ण बैठकबाट सञ्जय अर्यालको ठाउँमा मुरारी भण्डारीलाई अनुगमन समितिमा पठाउने निर्णय गरेको छ । कपन गाविसमा हुने विभिन्न विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने सर्वदलीय टोलीलाई अनुगमन समिति भनिन्छ । यो समितिले रिपोर्ट नदिएसम्म विकास निर्माणको अन्तिम किस्ता तथा पेश्कि फस्र्यौट हुँदैन । त्यसैले गाविसमा राजनीतिक दलहरुले सबैभन्दा फोकस गर्ने यो समितिमा कपनमा राजनीति गर्ने महत्वपूर्ण व्यक्तिहरु रहने गरेका थिए । एमाओवादीको यो नियुक्तिसँगै अनुगमन समितिमा वरिष्ठ व्यक्तिहरु बस्ने परम्परा तोडिएको छ । एकताका कपनमा गाविसको उम्मेदवार बन्ने व्यक्ति अनुगमन समितिमा बस्नुपर्छ भन्ने मान्यता कपनमा विद्यमान रहेको थियो ।
यस अघि ठाकुरप्रसाद खकुरेल एमाओवादीमा प्रवेशको पूर्वसंध्यामा उनलाई फकाउने हेतुले एमालेका मिठाराम अधिकारीले पनि अनुगमन पद खाली गरेका थिए । तर मिठाराम अधिकारीले सो पद खाली गरे पनि ठाकुरप्रसाद खकुरेल एमालेमा नबसेपछि अनुगमन समितिमा वडा नं. ४ का पुराना कार्यकर्ता राजु अधिकारीलाई एमालेले नियुक्ति गरेको थियो ।
यसरी एमाओवादी र एमालेले आफ्ना मध्यमखाले कार्यकर्ता अनुगमनमा पठाएपछि अब नेपाली कांग्रेशले के गर्ने हो चासो बढेको छ । अहिले नेपाली कांग्रेशको तर्फबाट कपन इकाई उपसभापति टंकप्रसाद सापकोटा अनुगमन समितिका सदस्यका रुपमा छन् ।