कपनमा आयोजना हुने भनिएको दलित कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि हुने भएपछि हंगामा, कार्यक्रमको औचित्यमाथि प्रश्न

कपन अनलाइनछुवाछुतमुक्त कपन बनाउने भनेर आयोजना गरिन लागिएको विशेष कार्यक्रममा आयोजकमध्ये एक संस्थाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाउने भनिएपछि तनाव सृजना भएको छ । यद्यपि एमाओवादीले भने अरु पार्टीहरु कार्यक्रमबाट भागेको आरोप लगाएको छ ।
कपनमा रहेका सबै दलित तथा गैरदलितलाई समावेश गरेर असारको १३,१४ र १५ गरी तीन दिन छुवाछुत मुक्त कपन बनाउन विविध कार्यक्रम गरिने तालिका यो समस्यासँगै विवादमा तानिएको हो । कार्यक्रमको आयोजकमध्ये एक कपन दलित तथा गैरदलित उत्थान क्लबले एकलौटी पुष्पकमल दाहाललाई प्रमुख अतिथिमा ल्याउने भनिएपछि राजनैतिक रुपमा यो आयोजना विभाजनमा परेको देखिन्छ । उक्त क्लबका अध्यक्ष एमाओवादी कार्यकर्ता भएकोले उनकै पहलमा एमाओवादी अध्यक्ष कपन ल्याइन लागिएको हो । यसरी एमाओवादी अध्यक्ष एक्कासी प्रमुख अतिथि हुने भएपछि कपन रहेका नेपाली कांग्रेस, एमाले, नेकपा–माओवादी, राप्रपा, नेकपा संयुक्त र नेकपा माक्र्सवादीले यो कार्यक्रम वहिस्कार गर्ने भएका हुन् ।

यसअघि कपन दलित तथा गैरदलित उत्थान क्लबले कपनमा छुवाछुतमुक्त कार्यक्रम गर्ने प्रस्ताव गरेपछि यहाँका सबै राजनीति दल तथा अन्य दलित संघसंस्थाले सहमति जनाएका थिए । त्यसरी सहमति जनाउँदा राजनीतिक रुपमा कुनै पनि कार्यक्रम नगर्ने भनिएकोमा अहिले एक्कासी एमाओवादीले वातावरण बिगारेको ६ दलको आरोप रहेको छ । कार्यक्रमको पूर्व संध्यामा आयोजकमध्ये एक कपन दलित उत्थान समितिले आयोजकबाट आफू हटेको जनाउँदै आफूमार्फत रहेको सबै उपसमितिलाई कार्यक्रम बहिष्कार गर्न भनेको छ । यस संस्थाको अध्यक्ष अर्जुन रिजाल बि.क.का अनुसार सहआयोजक भएर पनि सहकार्य हुन नसकेको र महेन्द्र सुनारले एकलौटी एमाओवादीकरण गरेको हुँदा आयोजकबाट हटेको बताए । उनले ९ सदस्यीय आयोजक समितिको एकपटक पनि मिटिङ नबसेको भन्दै उनले कपनका दलितहरुमा यो कार्यक्रम हुने जानकारीसम्म हुन नसकेको बताए । कपनमा सबैभन्दा ठूलो सञ्जाल रहेको दलित संस्थाका अध्यक्षका हैसियतले उनले यो कार्यक्रम एमाओवादीको चुनावी कार्यक्रमबाहेक अरु केही होइन भने ।
एमाओवादी अध्यक्षलाई छुवाछुतमुक्त कपनको प्रमुख अतिथिका रुपमा अगाडि सारेपछि आज बिहानै नेका, एमालेलगायत ६ दलले बैठक बोलाएका थिए । उनीहरुले एक प्रेश विज्ञप्ति प्रकाशित गरी यो दलितको कार्यक्रम नभएको र एमाओवादीको चुनावी कार्यक्रम रहेको बताएको छ । प्रेश विज्ञप्तिमा नेका का सभापति विनोद चालिसे, एमाले अध्यक्ष ध्रुवराज न्यौपाने, नेकपा–माओवादीका कपन इन्चार्ज ध्रुवकुमार बस्नेत, राप्रपाका राजाराम शिलवाल, नेकपा संयुक्तकी अध्यक्ष अनिता उप्रेती र नेकपा माक्र्सवादीका जितमान गुरुङले हस्ताक्षर गरेका छन् ।
कपन अनलाइनसँगको कुराकानीमा नेका का सभापति विनोद चालिसेले कार्यक्रम आयोजनाको प्रकृया नपुगेको एवम् गाविसको पैसाको दुरुपयोग भएको बताउँदै राजनीतिक दलका नेतालाई प्रमुख अतिथि बनाउँदा दलितको कार्यक्रम नहुने भएको हुँदा अब यस कार्यक्रममा नेपाली कांग्रेसले सक्रिय बहिस्कार गर्ने बताए ।
नेकपा एमालेका अध्यक्ष ध्रुवराज न्यौपानेले दलितहरुसँग सम्बन्धित कार्यक्रम भएको हुँदा दलित क्षेत्रको ठूला मानिस हुने पुरानो सहमति विपरित एमाओवादी कार्यकर्ताले पार्टीगत राजनीतितिर कार्यक्रमलाई धकेलेको हुँदा एमाले कपन यसको सशक्त बहिस्कार गर्ने जानकारी दिए । उनले कपन अनलाइनसँग कुरा गर्दै कार्यक्रममा दलितचाहिँ बाहिर र गैरदलितको हालिमुहाली भएकोमासमेत असन्तुष्टि जनाउँदै अब यो कार्यक्रम विसुद्ध चुनावी सभामात्र भएको बताए ।
त्यसैगरी कपन नेकपा –माओवादीका इन्चार्ज ध्रुवकुमार बस्नेतले यो कार्यक्रम बजेटको दुरुपयोग भन्दै यस कार्यक्रमले कपनमा रहेका सबै दलितलाई नसमेटेको कारण हामीहरु सुरुदेखि नै यो कार्यक्रमको बिरोध गर्दै आएको बताए । उनले यो कार्यक्रम संस्थाको नाममा गरिएको राजनीतिक कार्यक्रम मात्र हो भन्दै १५ गते हुने कार्यक्रम चुनावीसभा मात्र हो भने ।
कपन गाविसमा एकमात्र महिला प्रतिनिधि नेकपा संयुक्तकी कपन अध्यक्ष अनिता उप्रेतीले कपन अनलाइनसँग कुरा गर्दै सर्वदलीय सहमतिमा बजेट लिएर एमाओवादीले छुवाछुतमुक्त कपनको नाममा दलितलाई नै फुटाएको आरोप लगाइन् ।
यसरी सबै दल तथा आयोजक एक संस्थाले समेत यस कार्यक्रममा भाग नलिने र बहिस्कार गर्ने भएपछि अब यो कार्यक्रम एमाओवादीको कार्यक्रम हुने भएको छ । पछिल्लो घटनाक्रमका बारेमा कपन एमाओवादी अध्यक्ष शिब बजगाईंसँग कपन अनलाइनले टेलिफोन संवाद गर्दा अझै अध्यक्ष प्रचण्ड नै प्रमुख अतिथि हुने पक्का नभैसकेको बताए पनि कार्यक्रम संयोजक महेन्द्र सुनार भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रमुअ अतिथि हुने पक्का भैसकेको बताए ।
कपन माओवादीका प्रभावशाली नेता सञ्जय अर्याल भने दलित मुक्ति आन्दोलनबाट अरु दल भागेको आरोप लगाउँछन् । हामीले सबै पार्टीलाई आआफ्नो पार्टीका अध्यक्षलाई ल्याउन आग्रह गरेका थियौं तर कसैले आफ्नो केन्द्रिय अध्यक्ष ल्याउन नसकेको उनको भनाई छ । कार्यक्रममा दलित आयोगका अध्यक्षलगायत सबै पूर्ववत अतिथिहरुको साथमा प्रहरी आइजिपि कुवेरसिंह रानासमेत कार्यक्रममा भाग लिने उनले बताए । कार्यक्रमा एमाओवादीको भूमिका ठूलो देखेपछि अरु पार्टी भागेको उनको आरोप छ ।
कपनमा करिब १००० को संख्यामा दलितहरू बस्ने आंकडा रहेको छ भने यो छुवाछुतमुक्त कपन कार्यक्रमका लागि कपन गाविसले रू. १,२५,००० दिएको छ । गाविसले छुट्याएको रकममध्ये रु. ५०,००० आयोजकले लगिसकेको छ ।