अनलाइन मिडियाहरुलाई प्रेस काउन्सिलले सूचीकरण गर्ने

काठमाडौं, १० असार/ प्रेस काउन्सिलले नेपालमा सञ्चालन हुँदै आएका अनलाइन मिडियाहरूलाई सूचीकरण गर्ने भएको छ ।

नेपालमा अनलाइन मिडियाहरूको विकास तीव्ररुपमा भएको र यसलाई अनुगमन गर्ने काम नभएकोले व्यबस्थित बनाउँन प्रेस काउन्सिलले सूचीकरण गर्ने तयारी गरेको हो ।

राजधानीमा पत्रकार महासंघ, प्रेस काउन्सिल र अनलाइन पत्रकारबीच भएको संयुक्त छलफलले अनलाइन पत्रिकालाई काउन्सिलमा सूचीकरण गर्ने सहमति बनेको हो । सूचीकरणको विधि र प्रक्रिया काउन्सिलले अनलाइन पत्रकारसँग छलफल गरी तय गर्नेछ ।

अनलाइन पत्रिकाहरूलाई सूचीकरणको व्यवस्था अविलम्ब गर्ने र अनलाइन पत्रकारितालाई मर्यादित र स्तरीय बनाउन तालिमको व्यवस्था गर्ने काउसिन्सलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले छापा माध्यम र अनलाइनवीच विभेद गर्ने विद्युतीय कारोबार ऐनको दफा ४७ को खारेजीको माग गरेका छन् ।

पत्रकारको मागलाई सम्बोधन गर्दै काउन्सिल अध्यक्ष कार्कीले उक्त ऐनको दफा ४७ पत्रकारहरूमा आकर्षित गर्न नहुने र यसलाई संशोधन गरिनुपर्ने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।