२४ घन्टामा के के गर्यो वर्षाले : देशभर जनजीवन प्रभावित

काठमाडौं, ४ असार/ तीन दिनदेखि जारी वर्षाका कारण राजधानीसहित देशका विभिन्न भागको जनजीवन प्रभावित बनेको छ । मनसुन सुरु भएलगत्तै ठूलो पानी पर्दा पूर्वमा भन्दा पश्चिम नेपालको जनजीवन थप प्रभावित बनेको छ ।

डडेल्धुरा, दार्चुला कञ्चनपुर कैलाली, दाङ, बुटवल, सुर्खेत, बाँके, बर्दियालगायतका क्षेत्रमा बाढीले सयौँ घरटहरा बगाएको छ । गएको २४ घन्टामा सबैभन्दा बढी डडेल्धुरामा १५७ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । दिपायलमा १५४, भैरहवामा १४२, धनगढीमा १०७, वीरेन्द्रनगरमा ८१ मिलिमिटर वर्षा भएको छ ।

दाङमा ६६ पोखरामा ४२, सिमरामा ४३ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अझै एक–दुई दिनसम्म वर्षा जारी रहने जानकारी दिएको छ । मौसमविद्हरूका अनुसार बंगालको खाडी र अरेबियन सीमा विकसित मनसुन प्रणाली एकैसाथ नेपाल भित्रिएकाले मनसुनको सुरुआतमै ठूलो वर्षा भएको हो ।

यसैबीच अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाका ३० सयभन्दा बढी घर खतरामा रहेको छन् । बाढीले हिजो साँझसम्ममा सदरमुकामका ५० वटा सर्वसाधारणका घर तथा ९ वटा सरकारी कार्यालयका भवन बगाएको छ । बाढीले कटान गर्ने सम्भावित ठाउँका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

यता, अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा सुचारू हुन सकेको छैन् । यातायात सेवा सुचारू हुन नसकेका स्थानहरू सुदूरपश्चिमको दार्चुला, डडेल्धुरा, बझाङ, बैतडी रहेका छन् ।
खलंगा
मध्यपश्चिमाञ्चलका कालिकोट, सल्यान र प्युठानमा पनि यातायात सेवा अवरुद्ध भएका छन् । यातायात सेवा अवरुद्ध भएका स्थानहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू मिलेर बाटो खुलाउने प्रयार भइरहेको छ ।

त्यस्तै हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्डको सिस्नेरीमा पहिरो गएकाले सो सडकखण्ड भएर चल्ने सवारीसाधनहरू चल्न सकेका छैनन् । त्यस्तै फाकेल हुँदै हेटौँडातर्फ जाने आउने सडकखण्डको दक्षिणकाली हात्तीगौँडास्थित सडकखण्डमा पनि सवारीसाधनहरू यतिवेला चल्न सकेका छैनन् ।

यसैबीच, हिजो बिहानदेखि परेको अविरल वर्षाका कारण नारायणी र राप्ती नदीमा पानीको बहाव बढेको छ । वर्षामापन केन्द्र देवघाटका कृष्णबहादुर अधिकारीका अनुसार नारायणी नदीको बहाव आज बिहान ५ दशमलव ८२ मिटर मापन गरिएको छ ।

नारायणी नदीमा ८ मिटर पानीको बहाब पुगेको खण्डमा खतरा मानिन्छ । हिजो ५ मिटर मापन गरिएको थियो । त्यस्तै वर्षामापन केन्द्र रजैयाका अनुसार राप्ती नदीको बहाब १ मिटर २० सेन्टिमिटर मापन गरिएको छ ।

बर्दियामा २५० घर डुबानमा ::
लगातार तीन दिनदेखि परेको पानीका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियाको दौलतपुर गाविसका वार्ड नम्बर– ९, २, ३ र ७ पूर्ण रूपमा डुबानमा परेका छन् । घरमा पानी पसेपछि अन्नपात भाँडाकुँडा बगाएको छ भने पीडितहरू स्थानीय नेरानिमाविमा बसिरहेका छन् । कोही सुरक्षित स्थानतिर गएको स्थानीय लक्ष्मण ढुंगानाले बताउनुभयो । सो क्षेत्रमा हजारौँ नागरिक विस्थापित भएको बताइएको छ ।

बैतडीमा दुईको मृत्यु ::
लगातारको वर्षाका कारण बैतडी र अछाममा गरी दुईजनाको मृत्यु भएको छ । अरू ६ जना बेपत्ता भएका छन् । सिद्धेश्वर–९ बैतडीका रामसिंह ऐरीको घर पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २६ वर्षीया सीता ऐरी र एक वर्षीय अर्जुन ऐरी रहेका छन् ।

त्यस्तै अछामको कुन्तीबन्डाली–३ मा एक घर पुरिँदा दुईजना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् । बेपत्ताहरूको प्रहरी र स्थानीयको प्रयासमा खोजीकार्य जारी रहेको छ । अविरल वर्षा भइरहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।

अविरल वर्षाका कारण विद्यालय बन्द ::
अविरल वर्षापछि रूपन्देहीका निजी तथा आवासीय विद्यालयहरूमा बिदा दिइएको छ । निरन्तरको वर्षाले विद्यार्थीको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाजेसन नेपाल (प्याब्ससन) रुपन्देहीले आज मंगलबारबाट चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

वर्षे बिदामा समायोजन गर्नेगरी आजदेखि शुक्रबारसम्म मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । रुपन्देहीमा प्याब्सनअन्तर्गत झन्डै दुई सय विद्यालय बन्द छन् । निरन्तरको वर्षाका कारण रुपन्देहीका विभिन्न स्थान डुबानमा परेको सहकर्मी विक्रम खड्काले जनाएका छन् ।

कांग्रेसको दु:ख मनाउ ::
यसैबीच नेपाली कांग्रेसले अविरल बर्षापछि आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ । आज एक विज्ञप्ति निकालेर बाढी पीडितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेको छ । पीडित परिवारलाई उद्धार, राहत र सहयोग सबै राजनीतिक दलहरू, रेडक्रस र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूलाई कांग्रेसले आग्रह गरेको छ । यस्तै एनेकपा माओवादी तथा नेकपा एमालेले पनि बाढीपीडितलाई तत्काल राहतको माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।