यस्तो थियो कामपा १५ को पहिलो सामुहिक म्ह पूजा कार्यक्रम

यस्तो थियो कामपा १५ को पहिलो सामुहिक म्ह पूजा कार्यक्रम

कपन अनलाइन 

काठमाडौ,कार्तिक ७ ।

यमपञ्चकको चौथो दिन म्ह पूजा र न्हु दँ मनाइने गरिन्छ । म्ह पूजा र न्हु दँले तिहारको मौलिकपन बोकेको छ । विशेष गरी नेवार समुदायले मनाउने म्ह पूजा र न्हु दँले तिहारमा रौनकता थपि दिने गर्दछ ।

एकै दिन पर्ने यी दुई मध्ये म्ह पूजा प्राय नेवार समुदायले मात्रै गर्ने गर्दछन भने न्हु दँ अर्थात नेपाल सवंतको नयाँ वर्ष राष्ट्रियस्तरमै मनाउन थालिएको छ । म्ह पूजा म्ह पूजालाई आत्मपूजा पनि भन्ने गरिन्छ । नेवारी भाषामा म्हको अर्थ शरीर हो तसर्थ समग्रमा म्ह पूजाको अर्थ शरीरको पूजा हो ।

परिवारका ज्येष्ठ सदस्यले म्ह पूजा गर्ने चलन छ । आत्मसुरक्षाका लागि पनि यसरी आफ्नो शरीरको पूजा गरिएको बताइन्छ । म्ह पूजा गर्न विशेष प्रकारको मण्डप बनाइन्छ । उमेर र मर्यादाक्रम अनुसार परिवारका सदस्यहरू लस्करै बसेर यो पूजा गरिन्छ । पूजामा विभिन्न प्रकारका फूल, धूप, फलफूल, अक्षता, मिठाई आदि प्रयोग हुन्छ । पूजा सकिएपछि सगुनका रूपमा रक्सी, अन्डा, माछा, फलफूल आदि दिइन्छ ।

म्ह पूजा पनि नेवार समुदायका विभिन्न जातिले विभिन्न प्रकारले गर्छन् । कतिपय समुदायमा म्ह पूजा गर्दा कुचो, खुकुरी आदिको पनि पूजा गर्ने चलन छ ।म्ह पूजा प्रायः बेलुका गर्ने चलन छ । न्हु दँ न्हु दँ अर्थात नयाँ वर्ष । नेपाल सवंतको नयाँ वर्ष दीपावलीको चौथो दिन पर्छ ।

नेवारीमा न्हु दँ या भिन्तुना भनेको नयाँ वर्षको शुभकामना भनिएको हो । यो वर्ष नेपाल सम्वत् ११३८ प्रारम्भ हुँदैछ । यो चन्द्रमास गणनामा आधारित वर्ष हो । नेपाल संवत अनुसार एक औंसीबाट अर्को औंसी सम्मलाई एक चन्द्रमास भनिन्छ । करिब ३ सय ५४ दिनको एक वर्ष हुन्छ । तीन वर्षको एकपटक १३ औं महिना हुन्छ, जसलाई पुरुषोत्तम महिना भन्ने चलन छ ।

नेपाल सवंत कसरी सुरु भयो भन्ने सन्दर्भमा विभिन्न भनाईहरु रहेका छन् । एक चर्चित भनाई अनुसार त्यतीबेला शंखधर साख्वाले सम्पूर्ण जनताको ऋण तिरि दिएर नेपाल संवतको सुरुआत गरेको वताईन्छ । जनता ऋण मुक्त भएपछि त्यही दिनको सम्झनामा नेपाल संवत् मनाइँदै आएको बताइन्छ । सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ ।

नेपाल सवंतका महिनाहरूलाई कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, यंला र कौला भनिन्छ । नेपाल सवंत तिथी अनुसारको पात्रो भएकाले प्रायः कार्तिक पहिलो महिना हुने गर्छ भने असोज अन्तिम महिना हुने गर्छ ।

यस वर्ष कामपा वडा नं १५ ले पनि पहिलो पटक वडाकै पहलमा यो पर्व मनाएको थियो जसमा १६० जना सहभागी थिए ।सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, वडा नं १५ का अध्यक्ष ईश्वर मान डगोल,वडा नं १५ सदस्यहरु,वडा नं १५ बासीहरु  तथा बिदेशीहरु सहभागी भएका थिए ।फोटो सौजन्य :निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।