भिषण आगलागीबाट रु ५० लाख बराबरको क्षति
कपन अनलाइन
धनगडी ,कार्तिक ३।
धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ ।
शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ ।
स्थानीयबासी रामनाथ भट्टराईले चलाएको उक्त शोरुममा भएको आगलागीबाट कुर्सी लगायतका प्लाष्टिकजन्य व्यापारिक सामान जलेर नष्ट भएको छ ।
प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल र गोदावरी नगरपालिकाको एउटा दमकलको सहायतामा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएपछि वरिपरिका अन्य घरपसल आगो लाग्नबाट जोगिएका छन् ।
पटका पट्काउँदा निस्केको आगोको झिल्कोले आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।