नेपाल संवत् ११३८ अाजबाट सुरू
कपन अनलाइन
काठमाडौ,कार्तिक ३ ।
नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् ।
राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ उनले भने ।
विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।