चार नेपाली नारीस्रष्टा साहित्यिक दूत
काठमाडौं । त्रिमूर्ति निकेतनद्वारा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनले चारजना नारी स्रष्टालाई नेपाली साहित्यिक दूत मनोनित गरेको छ । जसअनुसार चीनका लागि नेपाली साहित्यिक दूतमा पूर्णिमा जी शाह, जर्मनीका लागि रश्मिला कवाङ, नर्वेका लागि विष्णुमाया विभू र स्वीजरल्यान्डका लागि रमा देवकोटा पराजुली मनोनित भएका छन् ।
विभिन्न राष्ट्रमा रहेर साहित्यिक कार्यमा समर्पित अन्य देशका नेपाली गोर्खाली नारी सर्जकलाई क्रमशः नेपाली भाषाको साहित्यिक दूतमा मनोनयन गरिने कार्यक्रम रहेको छ । हालसम्म १९ देशमा ३१ जना नारी स्रष्टा साहित्यिक दूत रहेका छन् । विश्व नारी नेपाली साहित्य सम्मेलनका केन्द्रीय अध्यक्ष प्राडा.गार्गी शर्माको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । २०७० सालको चैतमा काठमाडौंमा हुन लागेको ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ मा नेपाली भाषा साहित्यमा न्यूनतम एउटा कृति प्रकाशित भएका देशदेशान्तरका नेपाली, गोर्खाली नारी स्रष्टाको सहभागिता रहनेछ । त्यस सम्मेलनमा साहित्यिक दूतहरूबाट अन्तर्राष्ट्रिय नेपाली साहित्यको संयोजन हुने आयोजकले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया ।