आउदो संविधानसभा सदस्य संख्या ४९१

काठमाडौं, २० जेठ/ संविधानसभा सदस्य संख्या ४९१ नै कायम गर्न दलहरू सहमत भएका छन् ।
576
यसअघि हिजो बसेको विवाद समाधान कार्यदलले गरेको सहमतिलाई उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गरेको हो । उच्चस्तरीय राजनीतिक समिति र कार्यदलको संयुक्त बैठकमा संविधानसभा सदस्य संख्यामा यसअघिकै सहमति कायम राख्ने सहमति भएको हो ।

संविधानसभामा प्रतिनिधित्वका लागि न्यूनतम मतको सीमाका विषयमा भने आगामी २४ गते बस्ने बैठकले निर्णय गर्ने एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो । यसअघि एकीकृत माओवादी र मधेसवादी दलहरू संविधानसभा सदस्य संख्या ६ सय १ बनाउने पक्षमा उभिँदै आएका थिए भने कांग्रेस–एमालेलगायतका दलहरू ४९१ जना हुनुपर्ने अडानमा थिए ।

सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा संविधानसभा चुनावको मितिका विषयमा छलफल भए पनि निर्णय भने हुन सकेन । यसअघि हिजो कांग्रेस सभापति सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच तत्काल चुनावको मिति घोषणा गर्ने सहमति भएको थियो ।

दलहरूबीचको विवाद अन्त्यका लागि उच्चस्तरीय राजनीतिक समितिले गत बिहीबार आठ सदस्यीय कार्यदल गठन गरे पनि कार्यदलले मात्र निर्णय गर्न नसकेकाले आज कार्यदल र राजनीतिक समितिको संयुक्त बैठक बसेको हो ।

एक प्रतिशत मत ल्याउने दलले मात्रै संविधानसभामा प्रवेश पाउने, फौजदारी अभियोग लागेकाले उम्मेदवार बन्न पाउने वा नपाउनेलगायतका विषयमा दलहरूबीच अझै विवाद छ ।

तपाइँको प्रतिक्रिया ।