गीतकार राममान तृषितको शालिक मैजुवहाल, चाबहिलमा स्थापना

काठमाडौं १८ गते । वरिष्ठ गीतकार स्व. डा. राममान तृषितको शालिक स्थापना गरिएको छ । वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार सत्यमोहन जोशीले तृषितको निवास मैजुवहाल, चाबहिल496मा हिजो शुक्रबार सालिकको अनावरण गरिएको हो  ।
वासु शशि स्मृति परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जोशीले तीन कृतिको पनि विमोचन गरे । उनले प्रद्युम्न जोशीले सम्पादन गरेका ‘तृषितका केही गीत, कविता र मुक्तक’, वासु शशिले अनुवाद गरेको ‘विश्वका श्रेष्ठ कथा’ र हिरण्यकुमारी पाठकले सम्पादन गरेको ‘सम्झनामा राममान तृषित’ कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रममा संस्कृतिविद् जोशीले नेपाली सुगम संगीतमा राममानले व्यावहारिक प्रेमको प्रवेश गराएको बताए । वरिष्ठ गायक योगेश वैद्यले राममानसँगका स्मरणहरू सुनाएका थिए । वासु शशि स्मृति परिषद्का अध्यक्ष कृष्ण जोशीले राममान शक्तिशाली लेखक भएको दाबी गरे । कार्यक्रममा वरिष्ठ आख्यानकार परशु प्रधान, साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, परिषद्का सचिव प्रद्युम्न जोशीलगायतले मन्तव्य राखेका थिए ।
तृषितकै निवासमा स्थापना गरिएको अर्धकदको सालिक कलाकार रवीन्द्र ज्यापुले निर्माण गरेका हुन् । विसं. १९९५ माघ २३ मा जन्मिएका तृषितको २०६८ जेठ १७ मा निधन भएको थियो । उनको दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् भने आधा दर्जन गीति एल्बम निक्लिएको छ ।
तपाइँको प्रतिक्रिया ।