‘प्रचण्ड’को हत्या षडयन्त्र रचेको आरोपमा दुईजना पक्राउ
काठमाडौं, १७ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने षडयन्त्र गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । बर्दियामा प्रचण्डले सम्बोधन गर्ने आमसभास्थलमा प्रेसरकुकर बम राख्न संलग्न इन्द्रबहादुर चिमोरिया र विष्णु खड्कालाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै नेकपा माओवादी (क्रान्तिकारी) का सदस्य रहेको बताइएको छ । सभास्थलमा बम राखेको सूचना पाएपछि प्रहरीले तुरुन्त खोजतलास गर्दा प्रेसरकुकर बम फेला पारेको थियो । सो बम निश्क्रिय बनाएपछि प्रहरीले तुरुन्तै नेकपा माओवादी (क्रान्तिकारी) नाम गरेको पार्टीका विर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धवृलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ बरामद समेत गरेको थियो ।
प्रहरीले उनीहरुलाई केरकार गर्दा एमाओवादी अध्यक्ष प्रचण्डको हत्या गर्न बम राखेको बयान दिएको प्रहरीले जनाएको छ । काठमाडोंमा पक्राउ परेका दुई चिमोरिया र खड्का यसअघि बबरमहलमा बम राख्ने र कान्तिपुर पब्लिकेशनको गाडी जलाउने कार्यका पनि संलग्न रहेको प्रहरीको दावी छ ।