डलर ९० रुपैयाँ नाघ्यो । ११ महिनायताकै उच्च

काठमाडौ, जेष्ठ १७ – अमेरिकी डलरको मूल्य ११ महिनायताकै उच्च भएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दरअनुसार एक डलरका लागि ९० रुपैयाँ ०६ पैसा बुझाउनुपर्ने छ । यो दर बैंकका लागि तोकिएको हो । बैंकले सर्वसाधारणलाई उपलब्ध गराउँदा विनिमय दर योभन्दा केही माथि हुन्छ ।

 

०६९ साउन ११ मा प्रतिडलर विनिमय दर ९० रुपैयाँ ३० पैसा थियो । त्यसपछि क्रमशः डलरको मूल्य कम भयो । यो अवधिमा डलरले न्यूनतम ८४ रुपैयाँसम्म छोएको थियो । तर पछिल्लो एक महिनादेखि डलर बढ्न थालेको हो ।

rupee-vs-dollar

नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर तोकिएको छ । भारतमा डलरको मूल्य बढेपछि त्यहीअनुसार नेपालमा पनि बढेको हो । सामान्यता डलरको सुनको मूल्य विपरीत हुने गर्छ । डलरको मूल्य बढ्दा सुन घट्ने र सुनको बढ्दा डलरको घट्ने क्रम देखिन्छ । पछिल्लो समय बजारमा सुनको मूल्य घट्ने क्रममा छ ।

 

डलर महँगो हुँदा अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर देखिन्छ । निर्यातभन्दा बढी आयात गर्ने मुलुकमा यसको बढी नकारात्मक असर देखिन्छ । डलरको मूल्य बढ्दा आयातित सामानको भाउ बढेर मूल्य वृद्धिमा चाप पर्छ । तर बढेको मूल्यको असर देखिन भने केही महिना लाग्छ । डलरको मूल्यले तेस्रो मुलुकबाट आयात हुने तयारी उपभोग्य वस्तुसँगै उद्योगको कच्चा पदार्थ पनि महँगिन्छ । भारतमा पनि डलरका कारण महँगी बढ्छ र त्यसले नेपालमा आउने सामानलाई असर गर्छ । समग्रमा डलर बढ्दा नेपाल आयात हुने सबै वस्तुको मूल्य बढ्छ । यसका साथै सरकारले डलरमा लिएको ऋणको व्ययभार पनि बढ्छ ।

 

निर्यात गर्ने उद्योग गार्मेन्ट, गलैंचा, हस्तकला, चिया, कफीलगायतलाई डलरको मूल्य बढ्दा फाइदा छ । तेस्रो मुलुकमा निर्यात गर्दाबढी मूल्य पाइने सम्भावना हुन्छ । यसका साथै स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता पनि बढ्छ । विदेशबाट आउने रेमिट्यान्स पनि डलरको मूल्यसँगै बढ्ने गर्छ । विनिमय दर बढी भएको समय पैसा पठाउँदा फाइदा हुने भएकाले यस्तो प्रवृत्ति देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।