स्ववियु निर्वाचन स्थगित:रिले अनसन सुरु

काठमाडौ, जेठ १६ – यही जेठ २३ TU-logoगतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । फर्जी भर्नाको विषयमा विद्यार्थी संगठनहरुबीच कुरा नमिलेपछि त्रिभुवन विश्वविद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरेको हो ।

देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि बिहीबारदेखि सुरु हुने भनिएको निर्वाचन कार्यतालिका नै प्रभावित भएको थियो । नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि आज हुने भनिएको उम्मेदवारी दर्ता हुन सकेन। भर्नाका लागि तोकिएको अन्तिम दिन विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरुले ठूलो संख्यामा फर्जी विद्यार्थी भर्ना गराएपछि विवाद हुँदै आएको थियो । विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन रद्द भएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । छलफलमा नेविसंघ, अनेरास्ववियु तथा एमाओवादी र नेकपा माओवादी निकट अखिल -क्रान्तिकारी)को सहभागिता रहेको थियो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरले विवादका कारण सबै क्याम्पसका निर्वाचन समितिहरुमा तालाबन्दी गरिएपछि निर्वाचनको वातावरण बन्न नसकेको बताए ।

 रिले अनसन सुरु
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको प्रति विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । एमाओवादी निकट अखिल क्रान्तिकारीले आईतबार सम्ममा उमेदवारी दर्ता गरेर पनि चुनाव गर्न सकिने भएपनि स्थगित गरिएकोमा आपत्ती जनाएको छ । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले आफ्नो पक्षमा जीत निश्चित भएपछि अन्य विद्यार्थी संगठन चुनाव भाँडेको आरोप लगाए । नेपाली कांग्रेस, नेकपा-एमाले र मोहन वैद्य निकट क्रान्तिकारीले पनि स्थगतको विरोध गरेको छ । उनीहरुले चुनाव स्थगनमा एक अर्कालाई दोष समेत लगाएका छन् ।
यसैबीच, विद्यार्थी तत्काल गराउन माग गर्दै काठमाडौंको ठमेलस्थित सरस्वती क्याम्पसका विद्यार्थीले रिले अनशन सुरु गरेका छन् । आज मध्यान्नदेखि क्याम्पस प्रशासन अगाडी विद्यार्थीहरुले अनशन सुरु गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लाओश राईले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।