सामाजिक सञ्जाल मा विज्ञापन

नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण निःशुल्कदेखि पैसा तिरेर यसैमा विज्ञापन गर्नेक्रम पछिल्लो पटक ह्वात्तै बढेको छ। फेसबुकका भित्तामा ‘स्पोन्सर एड’ बाक्लिँदै गएको छ। त्यसबाहेक टि्वटर, लिंक्डइन, गुगल प्लस, डब्लुएवाइएएन, भिडियो साझेदारी साइट युट्युबलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोली ब्रान्ड प्रवर्द्धन गर्ने पनि उत्तिकै छन्।social-networking-sites

 

फेसबुकमा पेज निर्माण गरिसकेपछि प्रवर्द्धन बढाउन उसले रकम र अवधिबारे जानकारी दिन्छ। १ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका फेसबुकमा कति संख्यासम्म पुर्‍याउने र कतिको फ्यान वा फलोअर बढाउने, त्यहीअनुसार पैसा तिर्नुपर्छ। फेसबुकमा पहिला नै विज्ञापन निर्माण गरेर पनि प्रवर्द्धन गर्न सकिन्छ।

सानादेखि ठूला कम्पनी अहिले सामाजिक सञ्जालमार्फत् आफ्नो प्रवर्द्धन गरिरहेका छन्। तिनीहरूको उद्देश्य पेज बनाएर फ्यान बढाउँदै लाने र स्पोन्सर एडमार्फत् निश्चित संख्या पुर्‍याउने देखिन्छ। संघसंस्था, ट्राभल एजेन्सी, स्कुल–कलेज, पत्रपत्रिका, रेडियो र टेलिभिजन सबैले आफ्ना सेवा र उत्पादन प्रभावकारी बनाउने माध्यम सामाजिक सञ्जाललाई मान्न थालेका छन्।

नेपालमा मात्रै फेसबुक प्रयोगकर्ताको संख्या २१ लाख २४ हजार पुगिसकेको छ। इन्टरनेट पहुँच बढेसँगै सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका हुन्। दूरसञ्चार प्राधिकरणको तथ्यांकमा ६२ लाख ८० हजार जना इन्टरनेट पहुँचमा रहेको उल्लेख छ। वेवसाइटको रेटिङ गर्ने साइट ‘एलेक्सा डटकम’ का अनुसार नेपालबाट सबैभन्दा बढी खोलिने वेवसाइट फेसबुक नै हो।

मुलुकमा पछिल्लो पटक विज्ञापन बजार ओरालो ‘ग्राफ’ मा छ। बजार प्रवर्द्धन गर्न कम्पनीले यही मौका छोप्दै वस्तु र सेवाबारे सामाजिक सञ्जालको सहारा लिन थालेका हुन्।

संसारका प्रख्यात ब्रान्डले पनि सामाजिक सञ्जालमा दह्रो उपस्थिति जनाएका छन्। सामसङ, एप्पल, नोकिया, कोकाकोला, एडिडासलगायत ब्रान्डले सामाजिक सञ्जालमा आक्रामक प्रचार गरिरहेका छन्। क्याम्पेन गर्ने, फ्यान बढाउने, वस्तु तथा सेवाबारे जानकारी दिन सामाजिक सञ्जाल प्रभावकारी माध्यम ठानेका नेपाली कम्पनीले पेज नै खोलेर फाइदा लिइरहेका छन्।

सामाजिक सञ्जालको तथ्यांक राख्ने र विश्लेषण गर्ने ‘सोसलब्याकर्स’ ले नेपालबाट धेरै लाइक पाउने १ सयवटा पेज समेटेको छ। त्यसमध्ये एक नम्बरमा निजी मोबाइल कम्पनी एनसेल देखिन्छ। यसको पेजलाई ३ लाख ४२ हजार ९ सय ७० जनाले ‘लाइक’ गरिसकेका छन्।

ट्राभल एजेन्सी एस ट्राभलल्स डटकमको पेज दोस्रो नम्बरमा छ। यसको पेजलाई २ लाख २२ हजार ८ सय ६४ ले मन पराएका छन्। विश्वका अन्य कम्पनी र ब्रान्डलाई नेपाली फेसबुक प्रयोगकर्ताले लाइक गरेपछि तथ्यांकमा ती कम्पनी र वस्तु पनि समेटिएका छन्। अष्ट्रेलियन एजुकेसन एन्ड करिअर कल्सल्टेन्टको पेजले नेपालबाट मात्र १ लाख ३४ हजार लाइक पाएको छ। यसको कुल लाइक संख्या २६ लाख ८९ हजार पुगेको छ। ग्लोबल कन्भर्सेसन, टाटा डोकोमोले पनि नेपालबाट १ लाखभन्दा बढी लाइक पाएका छन्। ब्रिटिस कलेज, स्प्यारो एसएमएस, यामाहा नेपाललगायत होटल, रेस्टुरेन्ट, अटोमोबाइल्स, सपिङ मलले पनि फेसबुकबाटै प्रवर्द्धन गरिरहेका छन्।

नेपाली अनलाइन पोर्टलका फेसबुक पेजमा फ्यान पनि बढ्दै गएका छन्। ई–कान्तिपुरको २ लाख, अनलाइनखबर साढे १ लाख र नागरिकन्युजको १ लाख २३ हजार फ्यान नाघिसकेका छन्।

योमात्र होइन टि्वटर, लिंक्डइन र गुगल प्लसमा पनि आफ्नो एकाउन्ट खोलेर सक्रिय हुने कम्पनी उत्तिकै छन्। ‘पछिल्लो पटक सामाजिक सञ्जालमा गरिएका विज्ञापनको प्रभावकारिता बढेको छ,’ एनसेलका कर्पाेरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्मा भन्छन्, ‘ग्राहक र सेवाग्राहीसँग छलफल गरेर तत्काल प्रतिक्रिया लिन सामाजिक सञ्जाल भरपर्दो र प्रभावकारी माध्यम भएको छ।’ एनसेलले सामाजिक सञ्जाल ‘ह्यान्डल’ गर्नकै लागि पाँच कर्मचारी खटाएको छ।

फेसबुकमा पेज बनाएरमात्र होइन ‘वाल’ मा वेबसाइटको लिंक राखेर तथा टि्वटरमा फलोअर बढाउँदै १ सय ४० शब्दमा कम्पनी र वस्तुबारे जानकारी दिने उत्पादक पनि अगाडि छन्। होन्डा डियो स्कुटर, हुन्डाइ गाडी, यामाहा, बजाजका मोटरसाइकलदेखि सौन्दर्य प्रशाधनका वस्तु प्रवर्द्धन पनि फेसबुकमै देख्न सकिन्छ। विज्ञापन एजेन्सीले पनि सामाजिक सञ्जालमार्फत् विभिन्न कम्पनीको अभियान चलाउने जिम्मा लिन थालेका छन्।

सोसल मार्केटिङको पछिल्लो यो अवधारणालाई विश्वविख्यात कम्पनीले पनि आत्मसात गरेका छन्। डिजिटल विज्ञापनका रूपमा देखिए पनि यो अवधारणा लक्ष्य गरिएको वर्गसम्म पुगेको विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले सोसल ब्याकर्समा प्रतिक्रिया दिएका छन्। यसले ७५ देशको डिजिटल मार्केटिङ तथ्यांक राख्ने, विश्लेषण गर्ने र कम्पनीलाई सुझाव दिने गर्छ। यसअन्तर्गत प्रतिमहिना ५० डलरदेखि ४ सय अमेरिकी डलरसम्म तिरेर फेसबुक, टि्वटर, युट्युबमा पेज मनिटरिङ गर्ने सुविधा उपलब्ध हुन्छ। फेसबुकमा अवधि हेरेर पाँच डलरमा नै यस्तो सुविधा उपलब्ध छ।

तपाइँको प्रतिक्रिया ।