शुभकामना शुभकामना : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असोज ९ /साहित्य
शुभकामना शुभकामना (कविता )
फाटेका आशाका भोटाहरू
टालटुल गरेको धेरै भईसक्यो
यो दशैँले–
नयाँ पाउने अवसर देओस् ।
साना नानीहरूले नयाँ नानाको लागि
गुनासो दर्ता गरेको धेरै भइसक्यो
यो दशैँले–
नयाँ लाउने अवसर देओस् ।।
भूकम्पले ढालेर घरको छानो
जस्ताको छाप्रोमा टाउको ओताउँदै
कछुवा गतिको सरकारलाई कुरेको धेरै भइसक्यो
यो दशैँले –
पक्की छानो छाउने अवसर देओस् ।।
छोरा कतारको गर्मीमा अचेत छ
यता बाबुलाई हरेक महिना
साहुको सावाँ ब्याजको त्रासले लखेट्छ
यो दशैँले –
त्यो खाडलबाट बाहिर आउने अवसर दओस् ।।
अरुको घर बनाउँने तर आफ्नो
तारा देखिने पाली हुनेलाई
खेतमा जोतिएर पनि भकारी खाली हुनेलाई
यो दशैँले –
सुखका गीत गाउने अवसर देओस् ।।
फूलहरू सँगसँगै सबैका मन हाँस्नु परेको छ
एक आपसमा सबैले आत्मीयता गाँस्नु परेको छ
सबै वाधाहरू तोडेर,विश्वासको बाली गोडेर
यो दशैँले –
आस्थाको गोरेटो समाउँने अवसर देओस् । ।
आदर्शनगर ,कपन, काठमाडौँ ।