कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका ३ प्राथमिकता र योजना

कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका ३ प्राथमिकता र योजना

कपन अनलाइन

काठमाडौ,भाद्र २८।

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं जिल्लाको पूर्वी भागमा रहेको नगरपालिका हो । उत्तरमा शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज देखि दक्षिणमा साविक गोठाटार गाविस  सम्म फैलिएको यो नगरपालिका विविध भूगोल र प्राकृतिक सम्पदाले भरिएको छ । यस नगरपालिकामा मानवीय बस्तीका साथमा कृषि र पर्यटनको विकास गर्ने प्रचुर संभावना रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका नगरपालिकाका प्रमुख कृष्णहरी थापा संग कपन अनलाइनले यस नगरपालिकाको प्राथमिकता ,योजना र विशेष योजनाहरुको वारेमा केन्द्रित रहेर गरिएको कुराकानीमा आधारित सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

कृष्णहरी थापा २०५४ शालमा तत्कालिन गोठाटार गाविसमा अध्यक्षको रुपमा निर्वाचित भएर काम गरी सकेका छन । यसका  साथै लायन्स क्लव ,सहकारी र अन्य सामाजिक संघ संस्थाको मध्यम बाट सामाजिक समाज र जनसेवामा सक्रिय रहेका थापा स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

नगरपालिकाका जनताहरुको सेवा र सुविधा नै आफ्नो कामको पहिलो प्राथमिकता बताउने थापा अहिले नगरपालिकको विशेषता पहिचान गरी त्यसको विकास गर्ने अभियानमा लागेका छन  । उनका ३ प्राथमिकता ३ योजना र १ विशेष योजना उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका ३ प्राथमिकता

नगरपालिका भित्र धेरै कार्य सम्पन्न गर्नु पर्ने भएता पनि जनताको सेवा र सुविधा हाम्रो  पहिलो शर्त हो र कार्य सम्पादनको शिलशिलामा धेरै नियमित र आकस्मिक कामहरु पर्ने भएता पनि केहि कामहरुलाई विशेष प्राथमिकताको सुचिमा राखेर हामी काम गर्नेछौ  । यसै कार्य सम्पादनको शिलशिलामा निम्न कार्यहरुलाई  हामीले प्राथमिकतामा राखेका छौ ।

प्राथमिकता १: जनतालाई सहज र सरल सेवा

कागेश्वरी मनोहरा नगरपालिकाका जनताहरुलाई सहज र सरल सेवा उपलव्ध गराउने हाम्रो प्रथम प्राथमिकता रहेको छ ।यसको सुरुवात पहिलो बैठक बाट नै नगरपालिकाले सुरु गरिसकेका छौ । यसका लागी पहिला नगरपालिकाले गर्दै आएको नाता प्रमाणित ,सिफारिस लगायतका सेवाहरु वडा कार्यालय बाट नै उपलव्ध गराउन थाली सकेका छौ ।

यस कार्यालयको सेवाको प्रभावकारिताको लागी प्रत्येक वडामा कार्यालय व्यवस्थित गरिएको छ भने अहिले सबै सेवा जनताले वडा कार्यालय बाटनै प्राप्त गर्दै आएका छन  जसले जनताको समय ,श्रम र धन बचेको हामीले महसुस गरेका छौ ।

प्राथमिकता २ : बाटो निर्माण र सुधार

कागेश्वरी मनोहरा नगरपालिकाको दोश्रो प्राथमिकतामा नगरपालिका भित्रका बाटोहरुको निर्माण र सुधार रहेको छ । यो नगरपालिका उत्तर दक्षिण फैलिएर रहेको हुनाले यसको भूगोल लामो रहेको र नगरपालिकाको एक स्थान बाट अर्को स्थानमा आवागमन गर्न जनताले कस्ट भोग्नु परेको हामीले महसुस गरेका छौ ।

त्यस कारणले गर्दा नगरपालिकाको प्राथमिकतामा बाटोलाई राखेर मुख्य तथा सहायक सडकहरुको मर्मत विस्तार ,सुधार र निर्माणको काम अगाडी नगरपालिकाले अगाडी बढाएको छ ।यसमा विशेष प्राथमिकता चावहिल देखि साँखु सम्मको मूल बाटो परेको छ जुन बाटो मुआव्जाको सवालमा अदालतमा मुद्दा परेर रोकिएको छ जसलाई अधिग्रहणमा परेका  घरका धनिहरु संग छलफल गरेर यसको समाधान गर्ने पहल हामीले थालेका छौ ।पिडित घर धनिहरुलाई गोल्डेन ह्यान्ड सेक जस्तै कुनै विशेष प्याकेज बनाएर यसको समाधान गर्न सकिने उपाय हामीले अगाडी सारेका छौ ।

नगरपालिकाका जनतालाई सहज यातायातको सुविधा प्रदान गर्नका लागी नगर वसको व्यवस्था गरिएको छ जुन हरेक स्थानमा यात्रा गर्दा १० रुपैयामा गर्न सकिने गरि संचालनमा आएको छ । पहिला अपायक भूगोलका कारण नगरपालिकाको कार्यालय सम्म आउन  हाम्रा नगरवासीले ३ वटा सवारी परिवर्तन गर्नु पर्ने बाध्यता रहेको थियो ।त्यो अहिले समाधान भएको छ ।

हाम्रा नगरवासी अहिले त्यस बाट मुक्त भएका छन । मूल बाटोको लागि १ अर्व ४५ करोड रकम योजनमा परिसकेको छ ।यस क्षेत्रको सडकको समस्या समाधानको लागि गोकर्णेश्वर ,संखरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त पहलमा कार्यपत्र निर्माणको कार्य थालनी गरिएको छ भने यी नगरपालिकाको उत्तरी भेगमा पर्यटन पूर्वाधार विकासका लागि विशेष योजना बनाउन काम हामीले सुरु गरिसकेक्का छौ

प्राथमिकता ३ :शिक्षा र स्वास्थ्य

नगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य सेवाको लागि स्वास्थ्य चौकी ,बर्थिंग सेन्टर र अस्पताल निर्माण गरेर नगरपालिका भित्र सम्पूर्ण उपचारको व्यवस्था गर्ने हाम्रो योजना रहेको छ ।

यसका लागि नगरपालिकाको आलापोटमा बर्थिंग सेन्टर बनिसकेको र अन्य स्थानमा पनि अरु सेवाको लागि पहल सुरु गर्न वडा नं ६ मा अस्पताल निर्माणको घोषणा गर्ने तयारीमा हामी छौ ।९ वटा वडामा रहेको यस नगरपालिकाको स्थान छनौट गरि स्वास्थ्य सम्बन्धि विविध सेवा प्रदान गर्ने संस्थाहरुको निर्माण गर्ने नगरपालिकाको तयारी रहेको छ ।

त्यस्तै शिक्षा नहुदा समाज बन्न नसक्ने हुनाले अर्को प्राथमिकतामा यस नगरपालिकाका ४५ वटा विद्यालयको सुधार रहेको छ । यसमा निजि र सार्वजनिक विद्यालय विच कुनै भेदभाव नगरिने र यसको सुरुवात एस इ इ परिक्षामा सफल हुने विद्यार्थी सम्मान बाट सुरु गरिसकेका छौ । यस पटक नगरपालिकाले निजि र सार्वजनिक दुवै विद्यालय बाट विद्यार्थी सम्मान गरेको थियो ।

यस नगरपालिका भित्रका सार्वजनिक विद्यालयको शैक्षिक अवस्थाको सुधार अनिवार्य शर्त रहेको र यसको लागि पहल थालिएको छ ।

गरिव नगरवासीको छोरा छोरी पढ्ने सार्वजनिक विधालय जुन संग विद्यार्थीको भविस्य जोडिएको छ यसमा कुनै सम्झौता गने छैनौ र यसको लागि सबै विध्यालयमा निरीक्षण र भ्रमण गरि भौतिक र शैक्षिक सुधारको काम थालनी चाडै हामी गर्दै छौ । निजि र सार्वजनिक शैक्षिक संस्था विच समानताका लागि विद्यालय पोशाक नगरपालिका भरी एउटा बनाउने प्रस्ताव गरेको र यसमा छलफल जारी रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका ३ प्रमुख योजनाहरु

यस नगरपालिकाले प्राथमिकतामा रहेका कार्यहरु सम्पन्न गर्दै नगरको दिगो र प्रभावकारी विकासको लागि विभिन्न योजनाहरुलाई बर्गिकरण गरि कार्यान्वयनको पहल सुरु गरेका छौ ।यसमा नगरपालिकाको सम्मुनतिलाई ध्यानमा राखेर हामीले  योजना तय गरेका छौ ।

योजना १ : तथ्यांक संकलन

यस नगरपालिकाको यथार्त स्थिति कस्तो भन्ने थाहा पाउन यहाको अवस्थाको वारेमा जानकार हुनु पर्दछ ।२०६८ को सेन्ससको तथ्यांकले हाम्रो वर्तमान अवस्था थाहा पाउन गारो परिरहेको छ जसले गर्दा योजना निर्माणमा असर गरेको छ । त्यसैले विषयका जानकार हरुको संलग्नतामा नगरपालिकाको जनसंख्या , प्राकृतिक ,भौगोलिक ,सांस्कृतिक ,शैक्षिक लगायतको अभिलेख संकलन गर्ने योजना हामीले बनाएका छौ ।

यो तथ्यांक संकलन पश्चात नगरपालिकाका विभिन्न स्थानमा विशेष कार्यक्रम संचालन गर्नुका साथै नगरपालिकामा कृषि ,पर्यटन र नमुना वस्ती पकेट क्षेत्र निर्धारण गर्ने र यसको कार्यान्वयन गर्नेछौ ।

योजना २ : सार्वजनिक जग्गा संरक्षण तथा सदुपयोग

यस नगरपालिका भित्रका सार्वजनिक जग्गाहरुको संरक्षण र अभिलेखीकरणको काम भैसकेको छ । अव ति जग्गाहरुमा भौतिक र अन्य निर्माण गरि नगरपालिकाका प्रत्येक वडामा हरियाली बगैचा निर्माण गर्ने योजना रहेको छ । यस्ता बगैचाहरुमा नगरवासीहरुले आफ्ना ज्ञान र अनुभवको साटफेर गर्न पाउनेछन  भने कुनै विपद पर्दा पनि यी स्थानमा सुरक्षित वसोवासको व्यवस्था पनि गर्न सक्नेछौ ।यो बगैचाहरु वाल्किंग पाथ सहित आधुनिक संरचनमा बन्नेछन ।

यसमा नगरपालिकाको आफ्नै लगानी रहने छ । हामी अहिले भाडाको कार्यालयमा बसिरहेका छौ र अव छिट्टै वडा नं ५ को थालीमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाउदै छौ ।यसै स्थानमा पार्क पनि निर्माण गर्दैछौ ।

योजना ३ : आधुनिक बस्ती विकास र कृषि पर्यटनको विकास

यसको लागी हामी योजना निर्माण गर्दैछौ । यसको पहिलो चरणमा नगरपालिका भित्र रहेका जग्गाहरुको अध्यन गरि बर्गिकरण गर्ने छौ त्यस पछी ल्याण्ड पुलिंग गरेर सेक्टर निर्माण गर्नेछौ ।

यस नगरपालिकाको बागमती र मनोहरा फाँटमा कृषिको सम्भावना धेरै रहेको जसको सम्भाव्यता अध्ययन गरिरहेका छौ । अहिले सरकारले हाम्रो नगरपालिका , चाँगु नारायण नगरपालिका र शंखरापुर नगरपालिकाको क्षेत्रमा स्मार्ट शहर  बनाउने योजना सरेको छ जसले गर्दा ८ आना भन्दा तल कित्ता काट गर्न पाइदैन र कुनै किसिमको निर्माण पनि गर्न पाइदैन त्यसैले यस क्षेत्रमा ठोस योजना सहित वस्ती विकास गर्न नगरपालिकाले नै अग्रसरता लिनु पर्नेछ ।

हामी यस क्षेत्रलाई पूर्वी काठमाडौं सहरको रुपमा विकास गर्न चाहन्छौ ।यस अन्तर्गत मनोहरा खोलाको दुवै किनारमा सडक निर्माण गरि बैकल्पिक मार्ग बनाउने र त्यसको छेउमा नमुना बस्ती निर्माण गर्ने हाम्रो योजना रहेको छ ।

विशेष योजना : कागेश्वारी मनोहराको शिर सबैले गरौ घुमफिर (पर्यटन प्रवर्धन )

हाम्रो विशेष योजनामा यस नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने रास्ट्रिय निकुन्ज र प्राकृतिक र धार्मिक सम्पदाहरुलाई पर्यटनको केन्द्र बनाउने रहेको छ ।यसको अध्ययन सुरु गरि सकेका छौ । अहिले यस नगरपालिका र अन्य नगरपालिकाको उत्तरी भाग सुन्दरीजल देखि जहरसिंह पौवा सम्म पर्यटकीय बेल्ट बनाउने पहल सुरु गर्दै छौ जसमा एउटा अग्नी रेखा मार्ग पनि निर्माण हुनेछ भने अन्य पूर्वाधारको विकास पनि गरिनेछ जसको लागि रास्ट्रिय निकुन्ज सग छलफल सुरु भै सकेको छ ।

यस नगरपालिकाको माथिल्लो भाग पर्यटन ,बिचको भाग कृषि र आयआर्जन र तल्लो भाग नमुना वस्तीको रुपमा विकास गर्ने हाम्रो विशेष योजना रहेको छ ।

भिजन कागेश्वारी मनोहरा

भिजन कागेश्वरी मनोहरा यस नगरपालिकाको ऐना हो जसमा हामीले सम्मुनत नगरपालिका छर्लंग देख्नेछौ ।हाम्रो कार्यकाल ५ वर्षको रहेता पनि हामीले कम्तिमा १० वर्षको कार्ययोजना कन्सल्टेन्ट संग परामर्श गरेर उहाहरुको संलग्नतामा तयार गर्दै छौ ।

यो “स्वच्छ सफा हराभरा बनाऊ कागेश्वारी मनोहरा “भन्ने मूल मन्त्रमा केन्द्रित रहने छ जसले यस नगरपालिकाको भौतिक,आर्थिक,शैक्षिक ,सांस्कृतिक ,सामाजिक र प्राकृतिक विकासलाई सम्बोधन गर्ने छ ।

यसमा नगरपालिकाका नगरवासीले आ आफ्नो शिप ,कला ,क्षेमता अनुसारको सहयोग र संलग्नता जनाउनेछन ।यो भिजनमा सम्पूर्ण नगरवासीहरुको प्रत्यक्ष संलग्नता र सहकार्य रहनेछ ।

हामी यसमा चरणबद्ध रुपमा सबै वडाका बुद्दिजीवी ,शिक्षक ,चिकित्सक ,वकिल ,सामाजिक कार्यकर्ता , महिला समुह , विभिन्न अभियानका अभियन्ता हरु संग छलफल र परामर्श गरेर यो भिजन निर्माण गर्ने छौ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।