कवि आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,भाद्र २६।
कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा नुवाकोट र काठमाडौका कवि तथा साहित्य प्रेमीहरुको जमघट रहेको थियो ।
विश्वविद्यालय क्याम्पसका प्रिन्सीपल प्राध्यापक कृष्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, विदुर नगरपालिका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले कवि आरएमको रचनाले वर्तमान समयको परिवेश र आवाज लाई प्रतिविम्वित गरेको बताएका थिए ।
जन्म दिने बुबा र आमालाई मञ्चमा राखेर कविता सुनाएका डङगोलले जन्मस्थलको साहित्यिक गतिविधिमा र देशको साहित्यिक आन्दोलनमा आफु थप क्रियाशिल हुने बताएका थिए ।
त्रिशुली बाङमय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङगोलले आरएमको व्यक्तित्वमाथि बोल्दै बाल्यावस्थावाटै सरल, मिजासिलो तथा मृदुभाषिको पर्याय बन्न सफल डङगोल नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर लागि रहेको एक प्रतिभा भएको जानकारी दिएका थिए ।
कपन साहित्य समाजका अध्यक्ष डंगोल को उक्त एकल कविता वाचन कार्यक्रम को संचालन कवियत्री लक्ष्मी रुम्बाले गरेकी थिईन भने सभाध्यक्षता त्रिशुली वाङमय प्रतिष्ठानका अध्यक्ष श्रीहरी फुँयालले गरेका थिए ।