“हाम्रो समाजको छाती ढुकुरे, सोचाई ढुकुरे, व्यवहार ढुकुरे, प्रवृति ढुकुरे भएको देख्छु म” –ठाकुरप्रसाद खकुरेल

ठाकुरप्रसाद खकुरेल एमालेबाट एक्कासी एमाओवादीतिर प्रवेश गरेपछि कपनको राजनीतिमा एउटा ठूलो तरंग आएको छ । तीन दशकभन्दा बढि दुःख गरेको पार्टीलाई त्यागेर अर्काे पार्टीतिर प्रवेश गरेका खकुरेलका कुरा बुझ्न कपनका सबैलाई चासो भएको बेलामा कपन अनलाइनले केही अन्तरंग कुराकानी उनीसँग गर्यो । प्रस्तुत छ कपन अनलाइनका सम्पादक केशव पाठकसँग ठाकुरप्रसाद खकुरेलले गरेको अन्र्तवार्ता ः

ठाकुर प्रसाद  खकुरेल :फाइल फोटो
ठाकुर प्रसाद खकुरेल :फाइल फोटो

कपन अनलाइनः राजनीतिमा चमत्कार त्यति बढि हुने गर्दैन तर तपाई एमाओवादी भएपछि धेरैले चमत्कार महशुस गरे । यहाँ भनिदिनुस् राजनीति कति स्वार्थ केन्द्रित हुन्छ कति सामाजिक हुन्छ ?

 
ठाकुरप्रसाद खकुरेलः मेरो जीवनलाई गाँसेर राजनीतिलाई पर्यायको रुपमा भन्ने हो भने राजनीति भनेको नितान्त समाजिक काम हो, प्रगतिशील काम हो, अग्रगामी काम हो । माक्र्सले भने जस्तै हरेक दिनको विहानीमा नयाँ कुरा समाजलाई दिनु पर्छ भन्ने नै हो राजनीति भनेको । तर पछिल्लो घटनाक्रमले नेपालमा राजनीति भागबण्डाको खेल भएको छ । गणितीय हिसाबमा पार्टीहरुले आफूलाई ढाल्न थाले । जुनसुकै काममा स्वार्थ र पैसा जोडियो । अहिलेको परिवेशमा भैरहेको यो राजनीतिक चलखेलमा नअटाउने चाहिँ निष्ठाको राजनीति गर्ने मानिस हो । उ हराउँदो रहेछ । मैले बुझेको राजनीतिको अहिलेको जोडघटाउ यहि हो ।

 
कपन अनलाइनः एमालेबाट एमाओवादीमा प्रवेश गर्दा तपाइँलाई निष्ठावान् भन्ने आधारहरु के भेटाउन सकिन्छ ?

 
ठाकुरप्रसाद खकुरेल ः मलाई अझै सम्झना छ २०३३ साल कार्तिक १३ को घटना हो । वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ भन्ने जुन पाठ पढेँ । त्यो पाठमा मैले आफ्नै सम्पतिलाई आफ्नै बाबुलाई आगो लगाएर जनतालाई आजाद भयौ है आजबाट तिमीहरु भन्ने कुरा थियो । ती सामान्तहरुलाई उल्टो पैसाचाहिँ नतिर है भन्ने राजनीतिक पाठमा हुर्किएको मानिस हँु म । त्यतिखेर  खेतको चपरी पल्टाएर घाँस तल माटो माथि पारेझैं धनि र गरिबबीचको समानता, वर्गविहिन समाजको कल्पना, साम्यवादको सपना देखेर राजनीति सुरु गरियो । आज सैँतीस वर्षको पिरियडमा आफूले आफूलाई हेर्दा कता कता मैले जति निष्ठा भने पनि हेर्ने आँखाहरुले त्यसलाई निष्ठा नभन्दो रेछ । हाम्रो समाजको छाती ढुकुरे, सोचाई ढुकुरे, व्यवहार ढुकुरे, प्रवृति ढुकुरे भएको देख्छु म ।

 
कपन अनलाइनः ३४ वर्ष अकण्टक एउटै विचारधारामा रहनु भयो । पहिलो माले हुनुभयो अनि एमाले हुनुभयो । एमाले फुट्दा पनि एमालेमै रहनु भयो । ४ दिन अघिसम्म एमालेकै कार्यक्रममा व्यस्त रहि रहने अनि ४ दिनपछि एकैचोटी एमाओवदाी हुनुभयो । ४ दिनमा ३४ वर्षको राजनीति तिलाञ्ली, यस्तो पनि हुन्छ ?

 
ठाकुरप्रसाद खकुरेलः बिल्कुल हुँदैन । सच्चाई र इमान्दारीका साथ भन्दा एमालेलेको आठाँैं महाधिवेशनले विधान दियो । म संस्थापन पक्षबाट त्यो विधान अक्षरश पालन गर्नुपर्छ, राजनीतिक प्रतिवेदनलाई अक्षरश पालन गर्नुपर्छ भनेर लागेको मानिस हो । त्यो बिधानमा र राजनीतिक प्रतिवेदमा प्रश्टरुपमा अन्य राजनीतिक पार्टीहरुलाई कसरी हेर्ने बारेमा लेखिएको छ । अहिले पनि त्यो जस्ताको तस्तै छ । त्यहाँ नेपाली कांग्रेसलाई वर्गीय दुष्मनको रुपमा हेरिने लेखिएको छ तर व्यवहारमा मित्रचाहिँ कांग्रेस भयो तर उही आइडियोलोजीका शक्तिचाहिँ दुष्मन भए । म त्यसको विरुद्धमा ठाकुरप्रसाद खकुरेल उभिनु अभिशाप भयो यहाँ । दोस्रो कुरा जनताको बहुदलीय जनवाद जुन आफैमा एउटा विशेषतापूर्ण छ । त्यसको आर्थिक पाटो, सामाजिक पाटो, राजनीतिक पाटो महत्वको विषय हो । त्यो विचारलाई हरेक नेताले आआफ्नो गाजीमा राख्ने काम गरियो । आआफ्नो शैली भट्याउन थाले नेताले । जनताको बहुदलीय जनवादलाई त्यसरी परिभाषित गर्ने कामको म पूर्ण विरुद्धमा थिएँ । आज त्यसैको शिकार म भएको हँु । पार्टीभित्र विभिन्न गुट उपगुट हुँदहुँदै पनि मैले गुटहरुको अतिवादलाई चिर्दै पार्टीलाई सम्बृद्ध बनाउनका निम्ति हिँडेको मानिस हँु । यो अभियान अन्तर्गत रही जिल्ला सदस्य लडिरहँदा यही कारणले मलाई पाखा लगाउने काम भयो । त्यसैगरी क्षेत्रमा मैले क्षेत्रीय अध्यक्ष दावेदार गरिरहँदा त्यहाँ पनि गुटउपगुट जन्माएर मलाई सिध्याउने काम भयो । यस्ता धेरै घटनाक्रम छन् जहाँ लगातार मलाई गलहत्याउने काम भयो । सैद्धान्तिक र वैचारिक कुरालाई महत्व दिनु र सबै कुरालाई हो भन्न नसक्नुको परिणाम पनि हो अहिलेका यो अवस्था । मभित्रको यो स्वच्छ भावना र चाहनालाई साथीहरुले गुटमा परिवर्तन गरिदिनु भयो । योचाहिँ एउटा गुट हो यसलाई परास्त गर्नु पर्छ भन्ने तरिकाले हिँड्नु भयो साथीहरु । मैले ९ महिना अघि नै साथीहरुलाई ठाकुरप्रसाद खकुरेललाई तपाईहरुले घुच्याडी घुच्याडी गुटको नेता बनाउनु भयो अब यस क्षेत्रका १९ जना महत्वपूर्ण मानिसहरु एमामाओवादीमा जाँदैछौ भनेको थिएँ । मैले पहिले नै खबरदारी गरेको हो । तर कहाँनिर तिमीहरुको चित्त दुख्यो है भनेर एकवचन सोध्ने कामसम्म भएन । तपाईले ४ दिन अगाडि देख्नु हुन्छ तर यो दुईवर्ष अघिदेखिको पक्रिया हो ।

 
कपन अनलाइन ः १५ दिनअघिसम्म तपाईंका आम अभिव्यक्ति र कृयाकलाप एमाओवादीसँग मेल खाँदैनथ्यो । एमालेको बारेमा यहाँले विधान अनुरुप काम गरेन भनेर भनिरहनु भएको छ विचारमा अडेन भनिरहनु भएको छ । एमाओवादीलाई पनि अहिले यहि नै आरोप लाग्ने गरेको छ । एमाओवादी अध्यक्ष त झन् एकदिनमा ३ पटक आफ्नै बोलीलाई फेरिरहन्छन् भन्ने कुरा अब जो कोहीलाई थाहा भैसकेको छ । यस्तो बेलामा यो पार्टीमा चाहिँ के त्यस्तो देख्नु भयो र प्रवेश गर्नु भयो ?

 
ठाकुरप्रसाद खकुरेलः १० वर्षको जनयुद्धपछि बाह्र बुँदे समझदारी अनि शान्ति सम्झौताभएसम्म र सातौं महाधिवेशनमा पारित दस्ताबेजलाई विश्लेषण गर्दा मलाई सुधारिएको पार्टीको रुपमा एमाओवादी पाएँ मैले । बन्दुक छाडेका छन्, शान्ति प्रकृया टुंगिएको छ । अब उत्पादनसँग कार्यकर्तालाई गाँस्नुपर्छ, अब समृद्ध नेपाल बनाउन पर्छ भनेर एमाओवादी आएको छ । देशमा शोषितवर्गलाई सम्बोधन गरिरहेको एमाओवादीले । राज्य पुनसंरचना, धर्मनिरपेक्षता, संघियताजस्ता मुद्धाहरुमा नेपाली कांग्रेससँग कतिवटा मुद्धा छ र एमालेसँग कतिवटा मुद्धा छ त भन्दा छँदै छैन त्यो त सबै एमाओवादी कै हो । कांग्रेस र एमाले साक्षीभन्दा बाहेक के भए त ? भन्ने प्रश्न मेरो हो ।

 
कपन अनलाइनः नेकपा एमालेमा जतिजेन्ल हुनुहुन्थ्यो अन्तिमसम्म सक्रिय नै हुनुहुन्थ्यो(बिचमै रोकेर)

 
ठाकुरप्रसाद खकुरेलः मैले तपाई भनेको कुरा बुझेँ । ४ दिनमा यस्तो आश्चर्यजनका कुरा भयो भन्ने कुरालाई तपाई जोड दिइरहनु भएको छ । अझै सचिन्छ भने हिजोको कुरा विर्सिएर पार्टीलाई समृद्धतातिर जान वा लैजान मेरो पछिल्लो समयसम्म प्रयास भएको हो । पछिल्लो चरणमा गाउँ पार्टी कमिटिको विघटन भएर ध्रुव न्यौपानको संयोजकत्वमा अधिवेशन आयोजना कमिटि बन्यो । त्यतिखेर मैले के सोचेँ भने म एमालेबाट नबाहिरेसम्म मैले एमालेलाई गद्धारी गर्नु हुँदैन भनेर सोचेर नैतिक दायित्वको रुपमा लिएँ । बिचैमा छाडे भने अरु झन् आरोप लाग्ने भएकोले अन्तिम घडिमा पनि मैले आफूलाई परेका चोट र अन्यायलाई भूलेर यो अधिवेशनलाई सफल बनाइदिनु पर्छ भन्ने लाग्यो । मेरो भूमिका पुरा गरेरमात्र बिदा लिनु पर्छ भन्ने ठहर गरेँ । अनि म बिदा लिएर यता प्रवेश गरेको हुँ । यो एक, दुई वा पाँच दिनको कुरा नै होइन ।

 

कपन अनलाइनः सामान्यतया कम्युनिस्टहरुले नै अवसरवादी भन्ने शब्द बढि प्रयोग गर्छन् । यो शब्द कम्युनिस्टहरुको पेवाजस्तै शब्द मानिन्छ । भित्री पाटाहरु धेरै थिए होलान् । तर आमरुपमा हेर्दा कपनका मानिसहरुले एक्कासी तपाई एमाओवादीको कित्तामा लागेको देखिन्छ । धेरैले यसलाई अवसरवादिता वा स्वार्थकेन्द्रित भनेर बुझिरहका छन् । एमालेमा पदमा बस्न नपाइएको झोकमा एकिकृत माओवादीमा पदको लालसाले जानु भयो । राम्रै पदमा पाउने आसमा एमाओवादीमा लागेको कुरा चर्चामा छ । अवसरवादी भन्ने शब्द यो बेलामा तपाइमा लागु हुने कि नहुने ?

 
ठाकुरप्रसाद खकुरेलः भन्नेले के भन्छन् थाहा छैन तर मचाहिँ अवसरवादको पक्षमा छैन । मैले अवसरवादको पक्षमा लागेर यो निर्णय गरेको पनि हैन । पदमा कुनै वार्गिनिङ नै होइन । मैले खोजेको के हो भने एमालेले सुधार्नु पर्ने कुरामा धेरैपटक खबरदारी गर्दा पनि  कहिल्यै यो खबरदारी गर्ने तप्कालाई साथ दिएन । १२ बँुदेपछिका हरेक कृयाकलाप हेर्दा चित्त बुझाउने कुनै ठाउँ बाँकी राखेनन् नेताहरुले । कार्यकर्तालाई दासबाहेक केही मानिएन । हिजो पुष्पलाललाई अवसरवादी भनिएको हो ।  मैले हिजो पुष्पलालले मूलबाटो भनेझै मूलबाटो खोजेको हुँ यसमा अवसरवाद भन्ने कुरा केही छैन । भन्नेलाई ठाउँ छ भन्न पाइयो तर बोल्दा विश्लेषण गरेर बोल्दा राम्रो हुन्छ ।

 
कपन अनलाइनः अहिले यहाँ प्रवेश गर्नु भएको एमाओवादी पनि भर्खरै फुटेर आधा भएको पार्टी हो । यो पार्टी पनि मूलबाटो मै छ भनेर भन्ने आधारचाहिँ के ?

 
ठाकुरप्रसाद खकुरेलः एमाओवादीले उठान गरेका जनजीविकाका कुराहरु, मजदुरका कुरा, किसानका कुरा र मुद्धाहरुलाई हेर्दा म जनताको पक्षमा देख्छु । व्यवहारको कुरा भोलि देखिने कुरा हो । एमाओवादीलाई पनि म ठ्याक्कै यसै हो भनेर भन्न सक्दिन म पनि भर्खर प्रवेश गरेको हुँ । मैले दस्ताबेज पढेको पनि छैन, मैले विधान हेरेको पनि छैन । यी कुराचाहिँ अध्ययनपछि मात्र भन्न सक्छु अहिले नै ठ्याक्कै यसै हो भनेर भन्न सक्दिन । यसलाई गलत अर्थ नलगाइयोस् ।

 
कपन अनलाइनः कम्युनिस्ट र वर्गीय शब्दलाई अलि भावुकताका साथ लिइरहनु भएको छ । यहाँसँग एमावादीमा प्रवेश गर्ने २२ जनालाई यहाँ वर्गीय कम्युनिस्ट कसरी भन्न सक्नु हुन्छ ?

 
ठाकुरप्रसाद खकुरेल ः जनतामा पार्टी जाने र सुधारिएर आउने क्रममा कमिकमजोरी हुन सक्छन् । यही समाजका मानिस भएकाले सबै खाले मानिस पार्टीमा आउनु वा समाहित हुनुलाई अन्यथा सोचिनु हुन्न् । उनीहरुलाई परिष्कृत बनाउने हो पार्टीमा राखेर ।

 
कपन अनलाइनः यहाँले यतिधेरै आदर्शका कुरा गरिरहँदा आफू अर्काे पार्टी प्रवेश गर्दा मसँग कस्ता मानिस पछि लाग्दै छन् भन्ने पनि हेर्नु भयो होला नि ?

 
ठाकुरप्रसाद खकुरेलः मैले हेरेको छु । मैले मानेको नेता गोविन्दकृष्ण अधिकारीलगायत शशिकुमार पाण्डेजस्ता राम्रा मानिसहरुका बीच प्रवेश गरेको हुँ । स्तरीय भएनन् भन्ने कुरा म गलत हो । अरु जो प्रवेश गरे उहाँहरु पनि कुनै न कुनै कमिटिमा रहेर काम गरेका मानिस हुन् ।

 
कपन अनलाइनः प्रसंग बदलौं, अब एकिकृत माओवादीको कुन पदमा पुग्दै हुनुहुन्छ ?

 
ठाकुरप्रसाद खकुरेलः मलाई कुनै पदको लालसा छैन । म मात्र समर्थक भएर आफ्नो काममा लाग्छु ।

 
कपन अनलाइनः आफ्नो काम भनेको के हो ?

 
ठाकुरप्रसाद खकुरेलः खेतीपाती गर्ने, कुखुरा पाल्ने, भैंसी पाल्ने, उद्योग व्यवसाय गर्ने । शैक्षिक जगतमा सहयोग गर्ने । यो पद चाहिन्छ, यो नदिइ हुँदैन भन्ने कुरा केही छैन ।

 
कपन अनलाइनः कुनै पदीय महत्वमा जानु हुन्न ?

 
ठाकुरप्रसाद खकुरेलः योग्यता तथा क्षमता अनुसारको काम दियो भने किन नजाने जाने नि ।

 

 

कपन अनलाइन ः कपनका बजारमा आएको हल्ला अनुसार मिठाराम अधिकारी एमालेको जिल्ला सदस्य छन् । उनीभन्दा कम नहुने पदमा पुग्ने किसिमको तयारी भैरहेको छ भनिन्छ ।

 
ठाकुरप्रसाद खकुरेलः भन्नेले जे पनि भन्छन् । मलाइ त प्रचण्डजस्तै हुन पायो हुन्थ्यो जस्तो लाग्छ नि । भन्दैमा हुन्छ र ।

 
कपन अनलाइनः तपाई के भनिरहनु भएको छ भने मलाई पदको लालच छैन तर मलाई जिम्मेवारी दिए भने लिन्छु भन्दै हुनुहुन्छ । जीवनको यो उत्तरार्धमा अब मलाई पदचाहिँ चाहिएन तर कम्युनिस्टहरुमा मलाई एमाओवादी ठीक लाग्यो भनेर बस्न पनि सक्नु हुन्छ नि । पद दिए भने त बस्छु भन्दा त गलत अर्थ लाग्ला नि ।

 
ठाकुरप्रसाद खकुरेलः पद चाहियो भनेको छैन । म ३७ वर्ष राजनीति गरेका मानिस हो । राजनीतिको माछो भैसकेको मानिस हँु । मलाई राजनीतिरुपी पानी चाहिन्छ । एउटा राजनीतिक प्राणी कहिँ न कहिँ बसेर आफ्नो परिचय दिन चाहन्छ । उ निष्क्रिय हुन चाहँदैन ।

 
कपन अनलाइनः यहाँलाई पदीय महत्वमै बसेर काम गर्न मन छ ?

 
ठाकुरप्रसाद खकुरेलः छ । पक्का छ । तर पार्टीले अहिले यत्तिकै बस भने पनि ठीक छ र तैंंले जानेको बुझेको कुरा यो क्षेत्रमा सदुपयोग गर् भने पनि ठीक छ । अब एमाओवादीको सदस्य भए पछि यो पार्टीको आदेश मान्ने हो मैले । कुनै वार्गेनिङ गर्दै हिँड्ने होइन । हिजो पनि मैले त्यस्तै गरेँ एमालेमा ।

 
कपन अनलाइनः स्थानीय निर्वाचनको कुरा पनि उठीरहेको बेलामा एमालेमा रहँदा  गाविसको निर्वाचनमा यहाँलाई कुनै हैसियत दिने अवस्था नदेखिएपछि अनि एमाओवादीमा कपनको स्तरमा त्यति गतिला नेता नदेखिएको अवसरलाई सदुपयोग गरिएको विश्लेषण पनि गरिन्छ ।

 
ठाकुरप्रसाद खकुरेलः हैन । गलत कुरा हो । तपाईहरुको गलत सोच हो । छाती नै ढुकुरे भएपछि केही लाग्दैन । मेरो अब जनताबाट अनुमोदित हुने समय गुज्रिइसकेको छ । कपनमा नै बसेर कपनकै अध्यक्ष जित्नुपर्छ भन्ने सामान्य मान्यता ममा छैन । मेरो योग्यता र क्षमताले भ्याएसम्म शैक्षिक क्षेत्र नै मेरो रुचि हुन सक्छ । अब कपनका जनताले ठाकुर सर नै चाहिन्छ भन्ने कुरा भयो भन्ने अवस्थामा राजनीतिमा सम्भावनाको गुञ्जाइस छ ।

 
कपन अनलाइनः ६ दिन अगाडिसम्म यहाँ एमाले हुनुहुन्थ्यो एक्कासी एमाओवादी हुनुभयो । कपनवासीलाई एक्कासी भएको जस्तो लाग्छ यो घटना । राति निन्द्रा त लागेको छ ?

 
ठाकुरप्रसाद खकुरेलः आनन्दले निन्द्रा लागेको छ । शान्ति महशुस गरेको छु । अहिले केही एमालेका साथीहरु हाम्रा आँशुको सुन्दिनु भएन भनेको सुन्छु। तर ठाकुर खकुरेलले आजसम्म दिएको रगत पसिनाको मूल्यांकन गरिदिएको भए सायद यो दिन आउँदैनथ्यो । तर खुट्टा तान्ने काम मात्र भयो । पीडोबोधको पराकाष्ठा थियो । त्यो विसाएको छु, निन्द्रा लागेको छ ।

 
कपन अनलाइनः बिहान उठ्दाखेरी म एमाले हो कि एमाओवादी हो कि भन्ने दिग्भ्रम उत्पन्न भैरहेको त छैन ?

 
ठाकुरप्रसाद खकुरेलः मैले वादभन्दा पनि खेमा परिवर्तन गरेको हो । एउटा घरमा एउटा कोठामा एमाले थियो अर्काेमा एमाओवादी थियो मैले एमालेको कोठाबाट एमाओवादीको कोठातिर लागेका हुँ । कुनै भ्रम दिग्भ्रम केही छैन । म अनिकालको बिउ हुँ । मैले केही खोजिन पहिले पनि अहिले पनि खोज्दिन ।

 
कपन अनलाइनः कपनमा तुलनात्मकरुपमा एमालेको संगठन गतिलो छ । एमालेमा धेरै नेता बन्ने क्षमताका मानिसहरु छन् । कपनमा क्रियाशील पार्टीहरुको अवस्थामा हेर्ने हो भने पनि नेताहरु एमालेमै धेरै भेटिन्छन् । यहाँलाई हरेक विहानी उनीहरुको अनुहारले गिज्याइरहेको वा तर्साइरहेको बोध हुँदैन ?

 
ठाकुरप्रसाद खकुरेलः हुँदैन, हुँदैन । किनभने साथीहरु हुन् सबै । बैचारिक रुपमा मैल भिन्न मत राख्न पाएँ मेरो स्वतन्त्रताको कुरा हो । अरु बस्ने, उठ्ने, खाने, डुल्ने जस्ता ९९ प्रतिशत कुरा उहाँसँगै हो । तर साथीहरुको छाति नै ढुकुरे भयो भने मैले के भनुँ तर मेरो छाति त्यस्तो छैन । मलाई कुनै फरक पर्दैन । मलाई केही लोभ नभएपछि मलाई हिनताबोध किन हुने ?

तपाइँको प्रतिक्रिया ।