बाढीले पुल बगाएपछि बस्ती जोखिममा

बाढीले पुल बगाएपछि बस्ती जोखिममा

कपन अनलाइन 

त्रिशूली (नुवाकोट), २१ साउन । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गए रातिको बाढीले बगाएकोे छ ।
फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपट्टिको भाग बगाएको हो । पुलको एकापट्टिको जिप नै बगाइएपछि खोला बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी शशिकुमार डंगोलले बताए । फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला बस्तीमा पस्न सक्ने खतरा बढेको हो ।

पुलको नुवाकोटपट्टिको भाग भत्काएकाले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएका घरसमेत भत्काउन सक्ने स्थानीयवासीले बताएका छन् । पुल बगाएपछि खोलाको बहाव नुवाकोटपट्टि बढी आएकाले बस्ती जोखिममा परेको स्थानीय गोसाइँकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताए ।

साठी वर्षभन्दा पुरानो सो पुल पक्की पुल बनेसँगै पछिल्ला केही दशकदेखि प्रयोगविहीन अवस्थामा थियो । आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्नुपर्छ भन्दै स्थानीयवासीबाट केही वर्षअघि पुल मर्मत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।