सात वर्षपछि गुंला पर्व मनाइने
कपन अनलाइन
भक्तपुर, ७ साउन । सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुंला धलं(गुंला पर्व) यहाँ मनाउने तयारी भएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ ६ गतेसम्म एक महिनासम्म विभिन्न धार्मिक कार्य गरी मनाइने जानकारी दिए ।
गुंला पर्व बुद्ध धर्मवालम्बी नेवारको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको बताउँदै उहाँले गुंला पर्व मनाउन करिब रु नौ लाख मानन्धर समुदायको सहयोग एवं चन्दा प्राप्त हुने जानकारी दिए ।
यस पर्वमा प्रत्येक दिन नौ बाजामा चार पाँच वर्षदेखि सत्तरी असी वर्षसम्म समूहका मानिसको सहभागिता रहने छ । एकमहिने गुंला पर्वमा काठमाडौँ उपत्यकालगायत आसपासका चैत्य र विहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी धलं निकालिने घरमा विसर्जन गरिने चलन छ ।
पर्वमा सहभागी ७० वर्तालुले नुन नखाई एक छाक मात्र खाना खाएर बस्ने छन् । पर्व अवधिभर बिहान बेलुका पूजार्चनाका साथै गुंला ङक धलं नौ बाजाको जीवन्ततासमेत दिने परम्परा छ ।