सेतो मुस्ली अर्थात प्राकृतिक भियाग्राको नेपालमा खेती हुन थालेको छ

DSC_0814कपन अनलाइनविश्वभर यौनवर्धक तथा शक्तिवर्धक औषधीको रुपमा चर्चित सेतो मुस्लीको नेपालमा खेती हुन सुरु भएको छ । कपन अनलाइन झापा पुग्दा करिब ६ विगाहा क्षेत्रफलमा गरिएको सेतो मुस्ली भित्र्याउने काम भैरहेको थियो । पोहोर सालदेखि सुरु भएको खेती यहाँको गरिवि न्युनिकरण कार्यक्रम भन्ने संस्थाको पहलमा गरिएको थियो ।

आर्युर्वेदलगायत एलोपेथी र युनानी औषधीहरुमा प्रयोग हुने सेतो मुस्ली विश्वमा नेपाल र भारतमा मात्र पाइन्छ । विश्वभर पाइने अधिकांश शक्तिबर्धक तथा यौनबर्धक औषधीहरुमा सेतो मुस्लीको प्रयोग गरिन्छ । कुनै पनि साइड इफेक्ट नहुने भएकोले सेतो मुस्लीलाई विश्वकै सबैभन्दा स्वास्थ्यवर्धक शक्ति तथा यौनवर्धक औषधिको रुपमा लिइने गरिन्छ ।

 

सेतो मुस्लीका किसानः खमबहादुर मगर
सेतो मुस्लीका किसानः खमबहादुर मगर

झापामा सेतो मुस्ली खेती गर्ने खमबहादुर मगर ठूलो आम्दानीको श्रोत भएका कारण सेतो मुस्लीमा आकर्षित भएको र त्यही अनुरुप खेती फस्टाएकोमा खुशी देखिन्थे । उनका अनुसार एक विगाहा जग्गामा खेती गर्दा करिब ५ लाख रुपैंया सेतो मुस्ली खेतीबाट आम्दानी गर्न सकिन्छ । नेपालमा पनि यौनबर्धक तथा शक्तिबर्धक औषधिको फस्टाउँदो बजार देखेर उनी सेतो मुस्लीमा आकर्षित भएका हुन् । खेती शुरु गरेपछि उनले थाहा पाए सेतो मुस्लीको सबैभन्दा ठूलो बजार खाडी क्षेत्र र युरोप रहेछ । आउँदो वर्ष उनले पूर्वका झापा र मोरङमा करिब ५० विगाहामा सेतो मुस्ली खेती गराउने अभियानमा लागेका छन् । उनको यस किसिमको कार्यमा काठमाडौंमा रहेको सिएफआरडिपि भन्ने संस्थाले टेक्निकल, बिऊ विरुवालगायत बजार व्यवस्थापनमा सघाउ पुर्याउँछ ।

 

 

 

 

 

सेतो मुस्लीका किसान बासुदेव सिंजाली मगर
सेतो मुस्लीका किसान बासुदेव सिंजाली मगर

ठूलो आम्दानीको संभावना खोजेर झापाकै बासुदेव मगरले पनि पोहर साल करिब डेढ विगाहा क्षेत्रफलमा सेतो मुस्ली लगाएका थिए । पहिलो वर्ष नै उनले करिब ३ लाख रुपैंया आम्दानी गरेकाले खमबहादुर मगरसँग मिलेर पूर्वलाई सेतो मुस्ली पकेट क्षेत्रको रुपमा विकसित गर्ने योजनामा उनी लागेका छन् ।


आदिवासी जनजाति महासंघमा सक्रिय रहेका यी दुइ व्यक्तिहरु यतिखेर विभिन्न मिडियामार्फत यो खेती प्रचारप्रसारमा लागेका छन् । नेपालको तराई क्षेत्रलगायत पहाडि क्षेत्रका १००० मिटर तलका क्षेत्रमा खेती गर्न सकिने यो सेतो मुस्लीलाई उनीहरु इलाम, ताप्लेजुङ, पाँचथरलगायत पहाडि जिल्लामा विस्तार गर्ने योजनामा छन् ।

 

-केशव पाठक, सागर बैजु

 

तपाइँको प्रतिक्रिया ।