भारतको इलाहावादस्थित रेलवे स्टेशनमा भागदौड मच्चिँदा ३६ जनाको मृत्यु
इलाहावाद, माघ २९ – भारतको इलाहावादस्थित रेलवे स्टेशनमा भागदौड मच्चिँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।
ज्यान गुमाउनेमा २८ जना महिला र ७ जना वालवालिका रहेका प्रहरीले जनाएको छ । त्यहाँको रेल वे स्टेसनका प्रवक्ता अमित मालवीयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो उत्तर प्रदेश, दिल्ली, मध्यप्रदेश, बिहार र महारष्ट्रका बासिन्दा छन् ।
इलाहावाद रेल स्टेशनको ६ नम्बर प्लेटफर्मबाट छुट्ने रेल समात्न कुम्भ मेलामा स्नान गरेर फर्कँदै गरेका हजारौंबीच दौडादौड हुँदा उनीहरुको किचिएरै मृत्यु भएको थियो । प्रहरीले भीड नियन्त्रणको व्यवस्था मिलाउन नसक्दा दुर्घटना भएको सञ्चार माध्यमहरुले जनाएका छन् । रेल प्रशासन र स्थानीय प्रहरीबीच तालमेल हुन नसक्दा मृत्यु भएकाको शव पन्छाउन र घाइतेलाई उपचार गर्नसमेत तीन घण्टाभन्दा बढी समय लागेको थियो । घटनाप्रति भारतीय प्रधानमन्त्री मनमोहन सिंहले गहिरो शोक व्यक्त गरेका छन् । दुर्घटनामा परेर मृत्यु भएकाको परिवारलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा सरकारले गरेको छ । सन् २००३ मा पश्चिमी नगर नासिकमा आयोजना गरिएको कुम्भ मेलामा पनि ४५ जनाको मृत्यु भएको थियो ।