बुनपा संयुक्त वडा कार्यालय ११ र १२ अगाडीको सडक नाजुक अवस्थामा

कपन अनलाइन

काठमाडौ,  ९ असार |

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ को संयुक्त वडा कार्यालयको ठिक अगाडी  रहेको बाटोको अवस्था निकै नाजुक  छ | साबिक कपन बाट चुनिखेल तथा वडा नं ११ को  माथिल्लो भेग जोड्ने सो बाटोको उक्त खण्ड निकै नाजुक अवस्थामा रहेको लामो समय भैसकेको छ | साविक कपन गा वि स रहदै बाटो सुधारका लागि पटक पटक बजेट विनियोजन गरिएता पनि काम भने नभएको स्थानीयवासीको गुनासो छ |

वडा कार्यालय ११ र १२  अगाडिको जिर्ण सडक

यस बाटोको सम्बन्धमा कपन अनलाइन ले वडा नं ११ का अध्यक्ष राजु अधिकारी संग जिज्ञासा राख्दा नगरपालिका बाट यस बाटोको लागि कुनै नगर स्तरीय बजेट व्यवस्था नभएको बताए | यो बाटो निर्माण र विस्तारको जिम्मा सडक विभाग र उपत्यका सहरी बिकास  प्राधिकरणको भएको र  पटक पटक यसको लागि ध्यानाकर्षण गराएको उनले बताए |

वडा कार्यालयको ठीक मुनि रहेको यो बाटो मर्मत तथा सुधार नहुदा सवारी साधन र पैदल यात्री जोखिममा पर्दै आएका छन |यस्तो जोखिमको पछिल्लो उदाहरण स्वयम् आफु भएको वडा नं ११ का अध्यक्ष अधिकारीले ठट्यौली पारामा बताए |

उकालो तथा कठिन भूगोलमा रहेको उक्त बाटो मर्मत तथा सुधार यथासिघ्र हुनु पर्ने स्थानीय वासीको दवाव रहेको र यसको लागि वडाले पहल गरिरहेको वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले कपन अनलाइन लाइ बताएका छन |

यो बाटो बत्ति मुनि अध्यारो भन्ने उखान जस्तै भएको छ त्यसैले सडक विभाग र प्राधिकरणको मुख ताक्नु भन्दा वडाले विशेष बजेट व्यवस्था गरि यसको सुधार गर्नु पर्यो भन्ने स्थानीयवासीहरुको जोड रहेको छ  |

 

 

तपाइँको प्रतिक्रिया ।