सहयोग पाए बाँच्ने सरिताको रहर

कपन अनलाइन 

(सन्देश पौडेल)

बेसीसहर (लमजुङ), ७ असार । घरमा वृद्ध बुबालाई प्यारालाइसिस (पक्षाघात) छ, सासूआमा वृद्धा हुनुभयो, छोरो बल्ल १० वर्षको भयो । लमजुङ टारगाउँकी २७ वर्षीया सरिता बरालका दुवै मिर्गौला फेल भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

“६ वर्ष भयो मिर्गौला फेल भएको, काठमाडाँैका सबै अस्पताल चहारेँ, पैसा सकियो, रोग निको भएन”, लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी टारगाउँ निवासी मिर्गौला पीडित बरालले भन्नुभयो, “सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ । घाँटी र हातबाट औषधि दिएको छ, काम गर्न सक्दिन, मर्नु न बाँच्नु भएको छु । सास भइन्जेल बाँच्न मन लाग्दोरैछ ।”

सरितालाई साथ दिने उहाँका श्रीमान् इन्द्र बराल हुनुहुन्छ । बुबाआमाको स्याहार, छोराको पालन पोषण अनि सरिताको उपचारमा लाग्दा झनै समस्या भएको उहाँका श्रीमान् इन्द्र बराल बताउनुहुन्छ । “कमाउने मान्छे कोही छैनन्”, बरालले भन्नुभयो, “यस्तो श्रीमतीलाई अस्पतालमा छोडेर काममा जान सकेको छैन । कमाई नै नभएपछि कसरी उपचार गर्ने ?” हाल पत्निको उपचार गराइरहनु भएका बरालले उपचारका लागि सहयोगको याचना गर्नुभयो ।

सरकारले मिर्गौला पीडितको डायलाइसिस गर्दा शुल्क नलाग्ने भने पनि महँगोमा इन्जेक्सन र औषधि किन्नु परेको उहाँले बताउनुभयो । “कार्डले निःशुल्क डायलाइसिस हुन्छ भनेको छ तर औषधि र इन्जेक्सन किन्दा हप्तामा पाँच हजारभन्दा बढी खर्च हुन्छ”, सरिताका श्रीमान् इन्द्र बरालले भन्नुभयो, “घरमा आम्दानी छैन, आफ्नो कमाई छैन । डायलाइसिस गर्न पनि गाह्रो भएको छ ।”

उहाँले सबैबाट सहयोग पाउन पाए श्रीमतीलाई मिर्गौला प्रत्यारोपण गरेर बचाउन चाहेको बताउनुभयो । सरिताको उपचार गर्दा रु २० लाखभन्दा बढी खर्च भएको परिवारले जनाएको छ । सरिताका बुबा बेँसीसहर–१, उदिपुर निवासी तेजबहादुर खत्रीले छोरीको उपचारका लागि खर्च जुटेमा आफ्नो मिर्गौला प्रत्यारोपण गरिदिने बताउनुभयो । “म मेरो मिर्गौला प्रत्यारोपण गरेर भए पनि छोरीलाई बचाउन चाहन्छु”, खत्रीले भन्नुभयो, “सबैले सहयोग गरिदिए छोरी बाँच्ने थिई ।”

बराल परिवारले उपचारका लागि धेरै सरकारी निकाय र सङ्घसंस्था धाए पनि सहयोग नपाएको गुनासो गरेको छ । “रोगी र दुःखी गरिबलाई सहयोग हुन्छ भन्थे खै कहीँ पनि पाइएन”, सरिताका बुबा खत्रीले भन्नुभयो, “चुनावका बेला उपचारमा सहयोग गर्छौं, पहल गर्छाैं भन्नेहरु पनि तर्किएर हिँड्दा दुःख लागेको छ ।”

सरिताका पति इन्द्रले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरी श्रीमतीको उपचारमा सहयोग गर्न याचना गर्नुभयो । उहाँले ग्लोबल आइएमई बैंक बेँसीसहरमा रहेको खाता नं ९५०७०१०००१३५२ मा सहयोग रकम जम्मा गरिदिन आग्रहसमेत गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।