घरेलु श्रमिकको सेवा र सुविधा सुनिश्चित हुनुपर्ने
कपन अनलाइन
काठमाडौँ, २ असार । घरेलु काममा लगाइएका श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने र उनीहरुको पारिश्रमिक सुनिश्चित हुनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसका अवसरमा घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले सो कुरामा जोड दिएका हुन् ।
घरेलु श्रमिकको न्यूनतम तलब रु नौ हजार ७०० हुनुपर्ने तथा आठ घन्टाभन्दा बढी काममा लगाउन नहुने नियम सबै ठाउँमा अनिवार्य रुपले पालना गराउन र तीनको जीविकोपार्जन हुनेगरी सेवा तथा सुविधा रोजगारदाताले उपलब्ध गराउन पहल हुनुपर्ने सहभागी वक्ताले जोड दिए ।
विश्वमा हाल पाँच करोड २६ लाख घरेलु श्रमिक छन्, जस्मा चार करोड ३६ लाख महिला र ९० लाख पुरुष घरेलु श्रमिकको रुपमा कार्यरत छन् । एसियाली मुलुकमा ४१ प्रतिशत र नेपालमा दुई लाखभन्दा बढी घरेलु श्रमिक कार्यरत छन् । रोजगारको अभावका कारण बर्सेनि पाँच लाख २० हजार भन्दा बढी नेपाली घरेलु कामदारका रुपमा विश्व श्रमबजारमा कार्यरत हुँदै आएका छन् ।
नेपाल टे«ड युनियन काँग्रेसकी नेत्री रमा पौड्यालले सरकारले नेपालमा रोजगारीको सिर्जनामा वृद्धि गर्नुपर्नेमा जोड दिँदै रोजगारको अभावका कारण कतिपय मानिस भोको पेट रहन बाध्य भएको र सुत्केरी महिला खाद्यान्नको अभावमा गुज्रिरहेका छन् भन्नुभयो । कतिपय राम्रा रोजगारदाता रहे पनि कतिपयले श्रमिकलाई उब्रेको भात खुवाउने र समयमै पारिश्रमिक नदिने गरिएको गुनासो बढेको उहाँले बताउनुभयो ।
एक्टिभ डोमेस्टिक वकर्सका अध्यक्ष प्रशान्त डङ्गोलले धनाढ्य, मध्यम र सामान्यवर्ग गरी नेपालमा तीन तहका रोजगारदाता रहेको बताउँदै कसैले पर्याप्त तलब दिन सक्ने भएपनि नदिएको उल्लेख गर्नुभयो । घरेलु श्रमिक रोमा भण्डारीले घरेलु श्रमिक भई गर्वका साथ जीविकोपार्जन गरिरहेका कामदारलाई रोजगारदाता र समाजले गिल्लाको दृष्टिकोणले हेर्न नहुने सुझाव दिनुभयो ।
कार्यक्रममा घरेलु श्रमिक मञ्चका अध्यक्ष गोमा भण्डारीले प्रस्तुत गर्नुभएको घरेलु श्रमिकसम्बन्धी एक प्रतिवेदनमा काठमाडौँ, ललितपुर, भक्तपुर तथा बूढानीलकण्ठका २०० घरेलु रोजगारदाताको जनमत सङ्कलन गरी उनीहरुबाट प्राप्त धारणा प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा घरेलु रोजगारदाताका रुपमा ४२दशमलव पाँच प्रतिशत पुरुष र ५७ दशमलव पाँच प्रतिशत महिला रोजगारदाता सामेल गरिएको थियो ।
रोजगारदातामध्ये ६३ प्रतिशतसँग घरेलु श्रमिक रहेको, २७ प्रतिशतले घरेलु श्रमिक राख्ने चाहना राखेको जानकारी दिएका थिए । ८५ दशमलव ५ प्रतिशत रोजगारदाताले १८देखि ४० बर्षका घरेलु श्रमिक राख्न चाहेको, २८ प्रतिशत रोजगारदाताले ब्राह्मण घरेलु श्रमिक राख्ने इच्छा गरेको सात प्रतिशतले मात्र दलित श्रमिक राख्न चाहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ३६ प्रतिशत रोजगारदाताले मासिक तलब रु ५००० र १६ प्रतिशतले रु १० हजार वा सो भन्दा बढी तलब दिन सक्ने बताएका कुरा पनि सो प्रतिवेदनमा समेटिएको छ । रासस