लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय
कपन अनलाइन
(पुरुषोत्तम सुवेदी)
नवलपरासी, ३० जेठ । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ ।
विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ ।
चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । २०६३ सालमा स्थापना भएको चिकित्सालयले २०६४ सालदेखि उपचार सेवा प्रारम्भ गरेको थियो ।
यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने गरेका छन् ।
चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदै गएको छ । बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ ।
हाल यस चिकित्सालयमा ८२ बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिन सकिन्छ । मासिक करिब रु नौ लाख खर्च आउने यस चिकित्सालयले बिरामीबाटै सङ्कलन गर्ने न्यून उपचार शुल्कबाट चिकित्सालय सञ्चालन भइरहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभयो । दस बिगाहा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई २०६८ सालमा नेपाल सरकारबाट सो जग्गाको भोगाधिकार प्राप्त भएको थियो ।
अघिल्लो समयमा बिरामीको खासै चाप नभएपनि अहिले बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सालयका सहायक निर्देशक डा विनोद पौडेलले बताउनुभयो । यस चिकित्सालयले १५ वर्षे कार्ययोजनासमेत तयार गरेको छ जसअन्तर्गत प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ ।
यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको शीक्षण अस्पताल स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयका व्यवस्थापक सापकोटाको भनाइ छ ।
हाल यस चिकित्सालयमा विभिन्न रोगका समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ । सरकारले नीति तथा कार्यक्रममा नै राखी यसको वृद्घि विकासमा ध्यान पु¥याउन सकेमा आर्थिकरुपमा विपन्न वर्गले समेत सजिलैसँग उपचारमा पहुँच राख्न सक्ने थिए । यसो गरिएमा सरकारले उपलब्ध गराउन खोजेको गरिबीका रेखामुनिका जनताका लागि स्वास्थ्य सेवा अब्बल ढङ्गले पुग्ने देखिन्छ । रासस