परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द
कपन अनलाइन
डडेल्धुरा, ३० जेठ । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ ।
असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन÷अध्यापन बन्द रहेको छ । क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ ।
विसं २०६५ देखि महेन्द्र नमुना मावि परिसरभित्र सञ्चालनमा आएको क्याम्पसले नौ वर्षसम्म आफ्नो भवन बनाउन सकेको छैन । महेन्द्र नमुना माविले विद्यालयभित्र क्याम्पस सञ्चालन गर्न नदिएपछि विगत एक महिनादेखि क्याम्पसको पठनपाठन ठप्प बनेको हो । बिबिएस प्रथम वर्षमा मात्रै ६०÷६५ जना विद्यार्थी अध्ययनरत थिए ।
क्याम्पस बन्द भएपछि प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी घर बस्न बाध्य छन् । अन्य क्याम्पसमा अध्ययरनरत विद्यार्थी परीक्षाको तयारीमा जुटेको समयमा भिमदत्त क्याम्पस भने बन्द छ ।
सदरमुकाम खलङ्गामा रहेको महेन्द्र नमुना माविमा क्याम्पस सञ्चालन गरिएको थियो । अहिले बसपार्कको पूर्वमा क्याम्पसको भवन निर्माणाधीन अवस्थामा रहेको छ । व्यवस्थापन समिति र क्याम्पस प्रमुखले क्याम्पस सञ्चालनका लागि चासो नदेखाउँदा क्याम्पस बन्द भएको क्याम्पसका शिक्षक प्रकाश चटौतले जानकारी गराउनुभयो ।
उहाँका अनुसार विद्यार्थीले बारम्बार क्याम्पस कहिले सन्चालनमा आउँछ भनी सोध्ने गरेका छन् तर कहिले सञ्चालनमा आउने उहाँसँग जवाफ छैन ।
क्याम्पस प्रमुख तथा व्यवस्थापन समिति अध्यक्षले यो विषयमा कुनै जानकारी नै गराउँदैनन् भने अभिभावकले पनि क्याम्पस सञ्चालनका लागि कुनै चासो नदेखाएको विद्यार्थी बताउँछन् । रासस