सुनसरीमा सामाजिक सुरक्षाभत्ता वितरण

कपन अनलाइन 

इटहरी, ३० जेठ । सुनसरी जिल्लामा पछिल्लो पटक राज्य पुनःसंरचना गरिँदा निर्धारण गरिएका १२ वटा स्थानीय तहमध्ये एक नगरपालिका र छ गाउँपालिकामा बसोबास गर्दै आएका ३२ हजार २४४ जना सामाजिक सुरक्षाभत्ता प्राप्तकर्ताले नियमानुसार भत्ता प्राप्त गरेका छन् ।

जिल्ला समन्वय समिति सुनसरीका सूचना अधिकृत अरुण मेहताका अनुसार बृद्ध, दलित बृद्ध, एकल महिला, अपाङ्ग र अशक्त अपाङ्गता भएकालगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेले दोस्रो चौमासिकबापत रु एक करोड २८ लाख ४४ हजार ५०० भत्ता प्राप्त गरेका छन् ।

पछिल्लो स्थानीय तह पुनःसंरचनाअनुसार विभिन्न गाउँ विकास समिति मिलाएर गाउँपालिका र नगरपालिका घोषित भएअनुसार यो तथ्याङ्क बराह नगरपालिका, कोसी गाउँपालिका, भोक्राह गाउँपालिकामा बसोबास गर्दै आउनुभएका सामाजिक सुरक्षा भत्ता पाउनयोग्य भएकालाई वितरण गरिएको हो ।

यसैगरी, जिल्लाको दक्षिणी क्षेत्रमा रहेका देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त योग्य उमेर समूहका मानिसलाई उक्त रकम प्रदान गरिएको पनि सूचना अधिकृत मेहताले जानकारी दिनुभयो ।

यसमा जिल्लाका स्थानीय तह गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामध्ये तीन नगरपालिका र दुई उपमहानगरपालिकाको सामाजिक सुरक्षा भत्ताको विवरण पाउने व्यक्तिको तथ्याङ्क र रकम भने समावेश नभएको पनि उहाँले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।