विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरि

कपन अनलाइन 

काठमाडौँ, २९ जेठ । १६ औँ विश्व बालश्रम दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ । श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइएको विश्व बालश्रम दिवसको अवसरमा आयोजित ¥यालीमा सहभागीले ‘बालश्रम अन्त्य गरौँ’, ‘बालबालिकालाई माया गरौँ’ र ‘बालबालिका भविष्यका कर्णधार हुन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।सो अवसरमा विभागका महानिर्देशक भुवन आचार्यले बालश्रम अन्त्यका लागि चेतनामार्फत घरघरबाट सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

बालश्रमविरुद्ध प्रभातफेरि

इटहरी– बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा आज सुनसरीको इटहरीमा केही विद्यालयका बालबालिकाको सहभागितामा प्रभातफेरि कार्यक्रम गरिएको छ । प्रभातफेरिमा सहभागी बालबालिकाले इटहरी उपमहानगरपालिकाका मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

प्लान नेपालको सहयोग तथा जिल्ला बाल क्लब सञ्जाल सुनसरी र जिल्ला बाल कल्याण समिति समेतको सक्रियतामा भएको उक्त प्रभातफेरि कार्यक्रममा सहभागी भएका बालबालिकाले बालश्रमविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका थिए । उनीहरूले ‘द्वन्द्व र विपद्मा परेका बालबालिकालाई बालश्रमबाट संरक्षण गरौँ’लगायतका नारालाई पनि विशेष जोड दिएका थिए ।

प्रभातफेरिमा सहभागी भएका बालबालिकाले ‘बालश्रम विरुद्धका नारा बालश्रम कानुनी अपराध हो, त्यसको अन्त्य गरौँ, बालश्रम प्रयोग नगरौँ र बालश्रमको सबैले मिलेर अन्त्य गरौँ’ भन्नेजस्ता नारासमेत लगाएका थिए । बालबालिकाका विषयमा काम गर्दै आउनुभएकी प्लान नेपालकी टङ्कमाया लिम्बूले यो विषयमा सबैले मिलेर काम गर्नुपर्छ भन्नुभयो ।

त्यस अवसरमा केन्द्रीय बालकल्याण समितिको बाल अधिकारसम्बन्धी स्रोत ब्यक्ति सुमन अधिकारी, महिला तथा बालबबालिका कार्यालयकी प्रतिनिधि मञ्जु शर्मालगायतले पनि बालबालिकाविरुद्धको अभियानलाई साझा समस्याका रुपमा सबैले हेर्नु पर्नेमा जोड दिनुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।