कृषि कार्यालयको भवन शिलान्यास

कपन अनलाइन 

भद्रपुर, २२ जेठ । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज यहाँ एक समारोहको बीच शिलान्यास गर्नुभयो ।

रु दुई करोड १५ लाख ८९ हजार लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ । सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले नवनिर्माण हुने भवनले सरकारी कामकाजमा सहज हुने चर्चा गर्नुभयो ।

यसैगरी, विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीको निवास परिसरमा आयोजित वृक्षरोपण कार्यलाई प्रमुख जिल्ला अधिकारी खत्रीले वृक्षरोपण गरेर शुभारम्भ गर्नुभयो ।

साथै, ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ प्रमुख नारा रहेको विश्व वातावरण दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाद्वारा पनि सरसफाइ कार्यक्रम गरियो ।

चन्द्रगढीस्थित कभर्ड हलबाट सुरु भएको सरसफाइ कार्यक्रम सरकारी कार्यालयसम्म आएर सकिएको थियो । सो कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, कार्यालय प्रमुखहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । रासस

तपाइँको प्रतिक्रिया ।