नयाँ सरकारले चुनाव गर्ने विषयलाई प्राथमिकता दिनुपर्छ

कपन अनलाइन 

काठमाडौँ, १९ जेठ । अब बन्ने नयाँ सरकारले निर्धारित समयभित्र नै चुनाव गरी संविधानलाई कार्यान्वयन गर्नुपर्नेमा विभिन्न दलका नेताले सुझाउ दिनुभएको छ ।

रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी नेताले मुलुकमा देखिएका समस्या समाधानका लागि सबै राजनीतिक दलले समन्वय गरी निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको हो ।

नेकपा (एमाले) का नेता शङ्कर पोखरेलले सरकार परिवर्तनको उपयुक्त समय अहिले नभएको बताउँदै प्रधानमन्त्रीले राजिनामा दिएपछि प्रक्रियागत रुपमा नयाँ सरकार गठन हुने र त्यो सरकारले चुनाव गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता महेन्द्र यादवले आफ्नो पार्टीका सभापतिको नेतृत्वमा अव नयाँ सरकार बन्ने निश्चित भएको बताउँदै संविधान तथा निर्वाचनप्रति असन्तुष्टि राख्ने दललाई समेत विश्वासमा लिएर चुनाव गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाले काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने र असार १४ मा दोस्रोचरणको स्थानीय तहको निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गर्दै सो मितिमा चुनाव हुननसकेमा सत्ता समिकरणमा परिवर्तन आउनसक्ने बताउनुभयो ।

राजपाका नेता लक्ष्मणलाल कर्णले आफूहरुले उठाएका स्थानीय तह बढाउनेलगायत माग नयाँ सरकारले पूरा गर्ने विश्वास व्यक्त गर्दै त्यसो भएपछि निर्वाचनमा सहभागी हुने स्पष्ट गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।