संरचनागत परिवर्तन नगरी महिला हिंसा अन्त्य नहुने दावी

काठमाडौँ माघ ७ ।
महिला हिंसा अन्त्यका लागि विद्यमान अधिकांश संरचनाहरुको परिवर्तन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरले आयोजना गरेको “महिला विरुद्धको हिंसा ः अबको बाटो” विषयक अन्तरक्रियाका सहभागीहरुले त्यस्ता संरचनामा परिवर्तन नभएसम्म ठोस रुपमा उपलब्धी नहुने बताएका हुन् । पुरुष प्रधान संस्कार, नियम—कानुन, सामाजिक संघसंस्था, सामाजिकीकरण लगायतका संरचनामा परिवर्तन ल्याइए मात्रै महिला माथी हुने हिंसा न्यूनीकरण हुने उनीहरुले बताएका थिए ।

चित्र साभार : कान्तिपुर साप्ताहिक

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी झलक सुवेदीले महिला हिंसा बढ्नुको मुख्य कारणहरुमा समाज—संस्कृति, अर्थतन्त्र व्यवस्था र राज्य रहेको बताउनुभयो । महिला र पुरुषबीचको असमान सम्बन्ध नभत्काईकन महिला विरुद्धको हिंसा अन्त्य नहुने उहाँको भनाई थियो । त्यस्तै अधिकारकर्मी मञ्जु थापाले अहिले महिला हिंसा विरुद्ध भएका आन्दोलनहरु कतातिर अगाडी बढिरहेका छन् भनेर विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अकुपाई बालुवाटार अभियानप्रति संकेत गर्दै उहाँले सामाजिक सञ्जालमा आवद्ध विद्यार्थीहरुले स्वतस्फूर्त रुपमा महिला हिंसा विरुद्धको आन्दोलन अगाडी बढाउनु सह्रानीय कदम भएपनि उनीहरुमा विषयप्रतिको स्पष्टता कति छ भन्ने कुरा चाहीँ गम्भीर रहेको विचार राख्नुभयो ।
यसैगरि अधिकारकर्मी तुलानारायण शाहले पहाडमाभन्दा मधेशमा बढी महिला हिंसा व्याप्त छ भन्दै संरचनागत परिवर्तन नभएसम्म यो अवस्थामा उल्लेखनीय सुधार आउन नसक्ने जिकिर गर्नुभयो । देशै हल्लाउने गरि मधेश आन्दोलन भएपनि त्यति ठुलो आन्दोलनले पनि महिला, दलित आदिका मुद्दालाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो । अर्का अधिकारकर्मी सुनि लामाले राज्यसत्ताको विभेदकारी नीतिले नै महिला विरुद्धको हिंसालाई सहयोग पु¥याइरहेको दाबी गर्नुभयो । दाता मुखी महिला संगठनहरुले महिला विरुद्धको हिंसा उन्मुलन नगर्ने भन्दै उहाँले हिंसा अन्त्यका लागि चुनौतीपूर्ण आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
लेखक राजेन्द्र महर्जनले हाम्रो सामाजिक संरचनाले महिलामाथी मानवीय हिंसा र बेचबिखनको हिंसा निम्त्याएको भन्दै संचरनागत परिवर्तनमा जोड दिनुभयो । त्यस्तै दलित महिला अधिकारकर्मी दुर्गा सोबले राज्यमा निश्चित जात र लिङ्गको मात्रै सहभागिता भएकोले यस्ता किसिमका हिंसा अन्त्य नभएको बताउनुभयो । विभिन्न कारणले अरु महिलाभन्दा दलित महिला बढी विभेदमा परेको भएपनि अन्य जातको महिला माथी भएको हिंसा बढी उठाउने तर दलित महिला माथी भएको हिंसा लाई त्यति प्राथमिकता नदिने परिपाटीको विकास भएकोले हिंसालाई झन प्रोत्साहन मिलेको उहाँको भनाई थियो ।

तपाइँको प्रतिक्रिया ।