‘हलो क्रान्तिका नायक अधिकारीको सम्झना’

कपन अनलाइन 

काठमाडौँ, १३ जेठ । २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा २००६ सालमा लमजुङ जिल्लाको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका ‘हलो क्रान्तिका नायक’ अधिकारीको सम्झना गरिएको हो ।

लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेल्नुभएको थियो । उहाँ २०१५ सालमा निर्वाचन क्षेत्र नं– १०० बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद बन्नुभएको थियो ।

कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुराहरुको उद्गमस्थल रहेको दुराडाँडाको शैक्षिक विकासमा अधिकारीको ठूलो योगदान रहेको छ ।”
उहाँले प्रजातन्त्रको उद्गमस्थलको रुपमा रहेको दुराडाँडाको विकास र विस्तारका लागि प्रतिष्ठानलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो ।

काँग्रेस लमजुङ क्षेत्र नं– २ का सांसद चन्द्रबहादुर कुँवरले लमजुङको राजनीतिक, आर्थिक र सामाजिक विकासमा अधिकारीको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको विकासका लागि आफूले गर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले अधिकारीले अगाडि सार्नुभएको विकास निर्माणका कामलाई अगाडि बढाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सदैव आदर्शको राजनीतिक गर्नुपर्छ भन्ने मान्यता बोक्नुभएका अधिकारीको २०६९ साल कात्तिक ३० गते निधन भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।