कमाउन कश्मिर पुगेकाहरुसंग कपन अनलाइन

कपन अनलाइन हामी नेपाली कामका र दामका लागि विदेशी भूमिमा जाने क्रम अझै बढिरहेको छ । स्वदेशमै केही गर्ने भावनाभन्दा विदेशमा दुःख गर्ने भावना हामीमा धेरै छ । विदेशमा गएर कतिपयले भाग्यवश राम्रै काम र दाम प्राप्त गरे पनि अधिकांशहरुका लागि वर्मा गए पनि कर्म सँगै भने जस्तै भएको छ ।

पछिल्ला केही दिनदेखि कपन अनलाइनमा सम्बन्धित हामी(केशव पाठक र सागर बैजु) भारतले शासन चलाइरहेको काश्मिर राज्यमा छौं । काश्मिरको कृषि क्षेत्रले गरेको उन्नति तथा यसको अध्ययन भ्रमण क्रममा काश्मिरको राजधानी श्रीनगरमा हामी आइपुग्दा केही काम गरेर धन कमाउन आइपुगेका नेपालीलाई भेटिए ।
९० प्रतिशत मुस्लिम रहेको काश्मिर विश्वकै चर्चित पर्यटकीय क्षेत्र हो । होटेल व्यवसाय यहाँको सबैभन्दा ठूलो कर्म क्षेत्र हो । यिनै होटेलहरुमा काम गर्नृ आइपुुगेका विष्णु घिमिरेले धर्तिको स्वर्ग भनिने यो क्षेत्रमा आफ्नो जीवनको २५ वसन्त बिताएका छन् । गुल्मीबाट यहाँ आएका ४७ वर्षीय घिमिरेका सबै परिवार नेपालमै छन् । उनी बेलाबेलामा नेपाल जान्छन् । उनका चारजना बच्चाहरु छन् ।
श्रीनगरको प्रसिद्ध डल ताल छेउमा रहेको लासा होटेलमा भेटिएका विष्णु घिमिरेसँगै अरु तीनजना नेपाली युवाहरु भेटिए २४ वर्षीय शंकर कुमार, ३० वर्षीय विष्णु रिजाल र २१ वर्षीय प्रेम थापा । लासा होटेलका मालिक तिब्बेतियन नागरिक भए पनि काश्मिरमा करिब ३५ वर्षदेखि वसोवास गर्छन् । हामी यस होटेलमा खाना खान जाँदा वेटरका रुपमा काम गर्ने यी चारजना सामान्यतया नेपालीजस्ता देखिएनन् । यिनीहरुले कति तलब कमाउँछन् होला ? थाहा हुन सकेन । यिनीहरुले बढिमा ८ देखि १० हजार भारतीय रुपैया कमाउँछन् होला, हामीले अन्दाजा लगायौं ।
भारतको यो क्षेत्र समस्याग्रस्त क्षेत्र हो । यहाँ करिब १० लाख भारतीय सेनाको स्पेशल फोर्स कार्यरत छ । बेलाबेलामा हुने आतंकवादी गतिविधिमा यहाँ नेपाली मारिएका घटनाले सारै थोरै संख्यामा मात्र यहाँ नेपालीहरु रहेका छन् । विष्णु भन्छन् २००८ भन्दा अघि यहाँ धेरै नेपाली थिए तर अहिले निकै कम छन् ।
यो बिरानो जस्तो लाग्ने ठाउँ जहाँ पुरै कश्मिरी भाषा बोलिन्छ, यी ४ जना नेपाली लासा होटेमा नेपाली भाषामा एक अर्कासँग बोलिरहँदा हामीलाई नेपालकै कुनै होटेलमा गएको आभाष भयो । तर विदेशको यो अनकण्टारमा वेटरका रुपमा काम गरिरहेका यी नेपाली दाजुभाइलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना जागृत होस् भन्ने हाम्रो अभियान हो । नेपालमा श्रीनगरजस्ता पर्यटकीय क्षेत्र धेरै छन् । यस्ता क्षेत्रलाई विकसित गर्न सकियो भने हामीले कश्मिरीहरुलाई काम गराउन सकिन्थ्यो । तर राजनीतिकोे घृणित खेलमा रुमलिएको हाम्रो देशले कहिले विकासको बाटो समाउला ? नेपालको रारा ताल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सक्यो भने त्यो श्रीनगरभन्दा महत्वपूर्ण हुने थियो । यस्ता ठाउँ हाम्रो देशमा कति छन् कति । भारतसँग एउटा धर्तिको स्वर्ग छ भने हामीसँग त यस्ता धर्तिका स्वर्ग कति छन् कति ।

तपाइँको प्रतिक्रिया ।