वट सावित्री पर्व मनाइँदै

कपन अनलाइन 

विराटनगर, ११ जेठ । पतिको दीर्घायुको कामनाका साथ आज मिथिलाका महिलाहरुले वट सावित्री पर्व मनाइरहेका छन् । बिहानैदेखि महिलाहरु वर रूखको पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाइरहेका छन् ।

हिन्दू धर्मावलम्बीले वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले सो रूखको मुनि बसेर पतिको दीर्घायुका लागि कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास छ । यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नाका साथै बाँसको हातेपङ्खा, प्रसादसहित धार्मिक एवम् संस्कृतिअनुसार महिला पूजापाठ गर्छन् ।

सत्ययुगमा सतिसावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

यस पर्वको अवसरमा विराटनगरका काली मन्दिर, संसारीमाईस्थानलगायत विभिन्न मन्दिरको परिसरलगायत अन्य ठाउँमा रहेका वरका रूखमुनि बसेर पूजापाठ गर्ने महिला बिहानैदेखि व्यस्त रहेको देखिन्छ । रासस

तपाइँको प्रतिक्रिया ।