कपनवासीको १२ लाख स्वाहा, जिम्मेवारी लिने को ?

कपनवासीको १२ लाख स्वहा भएको कथा 

मुक्तिनाथ बाबाले धोका दिए कपनवासीलाई

कपन अनलाइन गत श्रावणको अन्तिम हप्ता कपन वडा नं. १ लागेको श्रीमद्भागवत महायज्ञबाट निक्लिएको नतिजाले आज आयोजक संस्था स्वयम् पनि पछुताउने अवस्थामा पुगेको छ । श्रावण २२ गतेदेखि ३० गतेसम्म कपन जोरधारा खानेपानी संस्था सहआयोजक भएर संचालन गरेको महायज्ञ शुरुदेखि नै विवादित थियो । कपनमा आयोजना गरिएको यो यज्ञको अर्कोे आयोजक चाहिँ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको भक्तपुरमा रहेको पञ्चमहालक्ष्मी पुष्पबाटिका थियो । यी दुई संस्थाले यी दुवै संस्थाको सहयोगार्थ भनेर आयोजना गरिएको यो यज्ञबाट संकलित रकम आधाआधा दुवै संस्थालाई बाड्ने गरी जोरधारा खानेपानीका केही व्यक्तिले मुक्तिनाथ बाबाको आश्रममा एग्रिमेन्ट गरेर आएका थिए । यसरी सहआयोजक भएर काम गर्दा गारो हुन्छ भन्दै त्यसबेला जोरधारा खानेपानी संस्थाका अध्यक्षसहित धेरैले यो यज्ञ गर्न हुँदैन भनेका थिए ।
कपनका धेरैले महायज्ञ आयोजना नगरौं भन्दै आवाज उठाइरहेकैे थियो । कतिपय राजनीतिक पार्टी तथा त्यसका अगुवाले समेत यो महायज्ञ नगर्न दवाव दिएका थिए । यता महायज्ञ नगर्न दवाव आइरहेको थियो उता जोरधाराका उपाध्यक्ष मुरारी भण्डारी मुक्तिनाथ बाबाका हातबाट महायज्ञ आयोजक समितिको मूल संयोजकको टीका लगाएर आए । त्यसैगरी महायज्ञको संरक्षक भनेर के.वि. मरहट्ठालाई मुक्तिनाथ बाबाले टीका लगाएर पठाइदिए । विस्तारै जोरधारा तथा आसपासका व्यक्तिहरुलाई मुक्तिनाथ बाबाको आश्रममा लाँदै कार्यक्रम सफल हुन्छ भन्ने वचन लिँदै आउने वातावरण बनाए मुरारी भण्डारी र के.वि. मरहट्ठाले । जोरधाराले ४ लाख लिटरको पानी ट्यांकी र एउटा भवन बनाउन ५० लाखको कार्ययोजनाका बनायो ।
धार्मिक भावना भएका धेरै व्यक्ति मुक्तिनाथ बाबाका वचनमा मुग्ध हुँदै कपनमा आएर कार्यक्रम व्यापक सफल हुने चर्चा गर्न थालेपछि तिनै मुक्तिनाथ बाबाका खुट्टामा ढोग्नेहरुलाई अगुवा बनाएर यो यज्ञ संचालन गर्ने वातावरण बन्यो । यहि क्रममा मुक्तिनाथ बाबा पनि कपन आएर आफू जोरधारा खानेपानीको प्रमुख संरक्षक भएको घोषणा गर्दै जोरधारालाई अनियन्त्रित पैसा उठाइदिने वाचा प्रकट गरे । मुक्तिनाथ बाबाले नै त्यसो भनेपछि कतिपय कपनवासीहरु अब केही हुने भो भनेर भ्रम पाले । मूल आयोजक त यसै पनि मुक्तिनाथ बाबाको प्रचारक बनिसकेको थियो ।
मुक्तिनाथ बाबाले महायज्ञ संचालनमा सबैभन्दा खर्चिलो देखिने टेण्टपाल नेपाल प्रहरीबाट निःशुल्क उपलब्ध गराइदिने भन्ने कुरा मूल आयोजक समितिले हल्लामा ल्याएपछि अझ धेरै मानिसहरु यो यज्ञमा आकर्षित भए । यद्यपि टेण्ट लगाउने बेलामा त्यो टेण्ट आएन । महायज्ञमा देशका ठूलाठूला उद्योगपति पैसाका बोरा बोकेर आउने भ्रमहरु कपनका सडकहरुमा फिजाइयो । यद्यपि यो भ्रमहरुका बीचमा पनि कतिपय कपनका चिनिएका अनुहार यो महायज्ञमा सहभागि भएनन् । धार्मिकरुपमा सहभागि भए पनि महायज्ञको उद्धेष्यप्रति उनीहरु सकारात्मक हुन सकेनन् ।

 

 

काठमाडौको पूर्वाेत्तर क्षेत्रकै ठूलो यज्ञ भनेर प्रचार गरिएको महायज्ञ सुरु भएपछि मुक्तिनाथ बाबाका तर्फबाट कुनै पनि मानिस बोरामा पैसा बोकेर नआएपछि यो महायज्ञ मात्र मुक्तिनाथ बाबाको प्रचार कार्यक्रम मात्र बन्न पुग्यो । तथापि कपनका थुप्रै मनकारी मानिसहरुले करिब १८ लाख नगद र करिब ९ लाख वाग्दान समेत गरेर कपन क्षेत्रको इज्जत भने जोगाए । मुक्तिनाथ बाबाका तर्फबाट करिब १ लाख वाग्दान मात्र प्राप्त भएको थियो ।
यसरी धार्मिक बाबाले आफ्नो पहिचान विस्तार गर्ने नाममा कपनमा खानेपानी जस्तो महत्वपूर्ण क्षेत्रलाई प्रयोग गरे । यस महायज्ञको आर्थिक हिसाव किताब हालै आयोजक समितिले सार्वजनिक गर्दा करिब १२ लाख रुपैंया खर्च भएको सार्वजनिक भएपछि स्थानीय व्यक्तिहरु झनै आक्रोषित भएका छन् । कपनमा सबैभन्दा कम खर्चमा महायज्ञ लगाउने हल्ला गरेर सबैभन्दा बढि खर्च देखाइपछि आर्थिक अनियमितताको विभिन्न प्रश्नहरु उठेका छन् ।
१२ लाख खर्च बाहेक करिब ६ लाख नगद यतिखेर मुक्तिनाथ बाबाका प्रतिनिधि र जोरधाराका प्रतिनिधिको संयुक्त खातामा रहेको छ । महायज्ञ शुरु गर्दा गरिएको एग्रिमेन्ट अनुसार यो रकम आधाआधा हुनेछ । हाल मुक्तिनाथ बाबाका तर्फबाट बैंकमा रहेको रकम निकाल्न ताकेता गरिरहेको बुझिन आएको छ ।
यसरी कपनवासीको १२ लाख रुपैंया अनाहक रुपमा स्वहा पनि भयो र काम पनि हुन नसक्दा यो विषयमा जिम्मेवारी कस्को भन्ने प्रश्न उठेको छ । यो महायज्ञको लगाउनु पर्छ भनेर सबैभन्दा पहिला कुरा ल्याउने मुरारी भण्डारी जो यस यज्ञका मुल संयोजक पनि हुन् सबैभन्दा ठूलो प्रश्न उनीतिर तेर्सिएको छ । यस सम्बन्धमा कुरा गर्दा कपन अनलाइनलाई मुरारी भण्डारीले खासै प्रश्ट उत्तर दिएनन् । उनका अनुसार हिसाब सबै पारदर्शि छन् र अब यो महायज्ञ आयोजक समिति विघटन भई सबै हिसाबकिताब जोरधारा खानेपानी संस्थाको भैसकेको छ । उनको यो भनाई आफू पन्छिने र जोरधारालाई जिम्मेवारीतिर धकेल्ने गम्भीर र आपत्तिजनक कुरा भएको जोरधारा खानेपानीको वरिष्ठ पदमा रहेका व्यक्तिले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा कपन अनलाइनलाई भने ।


आयोजक समितिको पनि महत्वपूर्ण पदमा रहेका तथा जोरधाराका प्रथम उपाध्यक्ष वासु बस्नेतले चाहिँ अब जे भयो भयो चाँडै नै ऋण गरेर ट्यांकी निर्माण सुरु गर्न लागेको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।