बुनपा १० मा नेपाली कांग्रेसलाई एकजुट बनाउँदै पवित्रा पोखरेल
कपन अनलाइन, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका महिला नेतृका लागि खासै उर्बर बन्न सकेको छैन । यसको अर्थ महिला नेतृ नै छैनन् भन्ने चाहिँ हैन । तथापि पुरुष नेताको एकछत्र राज्य छ भन्दा पनि हुन्छ । महिला नेतृको यही अभावबीच केही पात्र भने आफूलाई निरन्तर अब्बल बनाउन सक्रिय रहेको पाइन्छ । केही महत्वपूर्ण पात्रहरूको यो सक्रियता आसन्न नगरपालिका निर्वाचनमा कुन ठाउँमा पुग्ला त्यो अबको केही समयमा देखिएला । यसरी बुढानिलकण्ठ नगरपालिकामा महिला नेतृत्वको कदलाई निरन्तर उँचो बनाउन उद्यत एक पात्र हुन् पवित्रा पोखरेल ।
नेपाली कांग्रेसको नेतृ पवित्रा पोखरेल राजनीतिक, महिला सशक्तिकरण र सामाजिक क्षेत्रमा सक्रिय छिन् । गृहणीको साँघुरो घेराबाट समाजमा विद्यमान सबै सामाजिक अवयवमा सक्रिय हुनु आफैमा पवित्राको उम्दा किसिमको समय व्यवस्थापन पनि हो । नेपाली कांग्रेसका जुनसुकै कार्यक्रम तथा इभेन्टमा पुग्ने बानी मात्र हैन त्यो कार्यक्रमको सफलतमा आफ्नो भूमिका खोज्ने समेत गर्छिन् । पुरुष नेता नै नेताको भीडमा पवित्राको समर्पण र क्रियाशिलता मै हुँ भन्नेको भन्दा माथि रहेको छ । यद्यपि पवित्राले पार्टीभित्र अझै क्षमता अनुरुपको स्थान भने प्राप्त गर्न सकेको भने छैन ।
रेडियो जर्नालिस्टको भूमिकासमेत निर्बाह गरिसकेकी पवित्रा माइती नेपाल र महिला अधिकारका क्षेत्रमा विशेष सक्रिय छिन् । पार्टीभित्रबाट बुनपामा मेयर, उपमेयर वा अन्य पदका लागि दावी गर्नेहरुको भीडमा पवित्राको उचाई हरेक पदका लागि सक्षम हुन सक्ने देखिन्छ । स्मरणीय रहोस्, पवित्रा पोखरेललाई नेकाको तर्फबाट सम्भावित उपमेयरका लागि दावी गरिरहेका महिला नेतृहरुको कोटीमा राखिने गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बुनपा १० अध्यक्ष रहेकी पवित्रा पोखरेल र उनको कमिटिले आसन्न स्थानीय निकाय निर्वाचन र नववर्ष ०७४ को अवसरमा पारेर एक कार्यक्रम आयोजना गरिन् । करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजु श्रेष्ठसहित क्षेत्रीय समिति र बुनपा मेयरमा दावी गरिरहेका पात्रहरुको उपस्थित थिए ।
तरूण दलले गरेको कार्यक्रममा बुनपा १० मा हालसम्म वडाध्यक्ष पदका लागि दावी गरिरहेको रामप्रसाद लुइँटेल, श्याम डोटेल, नारदमणि घिमिरेलाई उम्मेदवारीको बारेमा बोल्ने अवसर पनि दिइएको थियो । पवित्रा पोखरेलको नेतृत्वको बुनपा १० को आयोजना गरेको कार्यक्रममा २ दर्जन जति स्थानीय महिला समूहका प्रमुखलाई सम्मानसमेत गरिएको थियो ।