एघार प्रतिशत विद्यार्थीले कक्षा–१ बाट विद्यालय छाड्ने गरेको

कपन अनलाइन 

इलाम, २१ चैत । भर्ना भएकामध्ये एघार प्रतिशत विद्यार्थीले कक्षा–१ बाट विद्यालय छाड्ने गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय इलामले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी कक्षा–१ बाटै विद्यालय छाड्ने गरेका छन् ।

गत शैक्षिकसत्रमा जिल्लाको सामुदायिक विद्यालयतर्फ कक्षा–१ मा चार हजार चार सय ६५ जना विद्यार्थी भर्ना भएकोमा चार सय ९१ जनाले विद्यालय छाडेको सो तथ्याङ्कमा उल्लेख छ ।

कक्षा–१ बाट धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको देखाइएको भए पनि यति धेरै विद्यार्थीले स्कुल जान नछाड्ने कार्यालयका कर्मचारी दाबी गर्छन् । “यति धेरै विद्यार्थीले स्कुल जानै छाडेका होइनन्”, जिशिकाका शाखा अधिकृत निर्मल ढुङ्गेलले भन्नुभयो –“सामुदायिकतर्फ भर्ना भएका बालबालिका पुनः संस्थागतमा गएका होलान् ।”

उमेर नपुगी विद्यार्थी भर्ना गर्ने प्रचलनले कक्षा छाड्ने दर धेरै भएको हुनसक्ने ढुङ्गेलको भनाइ छ । उमेर नपुगी भर्ना भएका विद्यार्थी अर्को वर्ष पनि त्यही कक्षामा भर्ना हुने र एउटै विद्यार्थीलाई बर्सेनि नयाँ विद्यार्थीको रूपमा तथ्याङ्कले देखाउने भएकाले धेरैले कक्षा १ बाटै विद्यालय छाडेको जस्तो देखिने सो कार्यालयले जनाएको छ ।

“कक्षा–१ मा उमेर नपुगेका विद्यार्थी भर्ना हुन्छन्, त्यसरी भर्ना भएका विद्यार्थीको नाम सफ्टवेयरले लिँदैन” जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले भन्नुभयो – “ती विद्यार्थीलाई बाल विकासतर्फ लगिने भएकाले कक्षा छाडेको जस्तो देखिन्छ ।”

कक्षा–१ मा भर्ना हुनका लागि पाँच वर्षको हुनुपर्छ । तीन वर्षदेखिका विद्यार्थीलाई बाल विकास केन्द्रमा भर्ना गरिन्छ । कतिपयले उमेर नपुग्दै बालबालिकालाई विद्यालय तहमा भर्ना गराउने गरेका छन् । उमेर पुगेकै कतिपय विद्यार्थी सामुदायिक विद्यालय छाडेर निजी विद्यालयमा जाने गरेको समेत कार्यालयले जनाएको छ ।

तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्ममा ७ दशमलव ३ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । कक्षा ६ देखि ८ सम्म विद्यालय छाड्नेको सङ्ख्या पाँच प्रतिशत छ । कक्षा १ देखि ८ सम्मका ६ दशमलव १ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । कक्षा ९ र १० मा मात्रै ५ दशमलव २ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।