इजिप्टमा जनमत संग्रह

राष्ट्रपति मोहम्मद मुर्सीले इजिप्टमा नयां संविधानको मस्यौदा पारित गर्न जनमत संग्रहको घोषणा गरेका छन्। राष्ट्रपति मुर्सीविरुद्ध देशव्यापी प्रदर्शन भइरहेका बेला मुर्सीले संविधानको मस्यौदा पारित गर्न आगामी डिसेम्बर १५ मा जनमत संग्रह गर्ने बताएका हुन्। मुर्सीको पार्टी मुस्लिम ब्रदरहुडको बहुमत रहेको संविधानसभाले संविधानको मस्यौदा पारित गर्न जनमत संग्रहमा जाने निर्णय गरेको हो।

विपक्षीहरुले भने संविधानको मस्यौदा पारित भएमा राष्ट्रपति मुर्सीलाई असिमित अधिकार प्राप्त हुने भन्दै विरोध गरेका छन्। विपक्षीहरुले मुर्सी इजिप्टमा शासक बन्दै गएको अरोप लगाएका छन्। मुर्सीले संवैधानिक अधिकार आफ्नो हातमा लिएपछि उनीविरुद्ध प्रर्दशन चर्किरहेको बेला उनले गरेको जनमत संग्रहको पनि विरोध भइरहेको छ। राष्ट्रपति मुर्सीविरुद्ध प्रदर्शन भइरहेका बेला उनका समर्थकहरुले पनि उनको कदमको समर्थन गर्दै र्‍याली निकालेका छन्।

तपाइँको प्रतिक्रिया ।