तेह्र वर्षीय बालक इँट्टाभट्टाबाट उद्धार

कपन अनलाइन 

रोल्पा, ९ चैत । भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ ।

नगरकोट नगरपालिका–३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका मालिकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि उनको उद्धार सम्भव भएको हो । बाबु वैदेशिक रोजगारीमा रहेको र आमाले दोस्रो विवाह गरेका कारण कान्छी आमासँग बस्दै आएका उनी कक्षा ६ मा अध्ययन गर्दागर्दै आफ्नै फुपाजुका साथमा भक्तपुर पुगेका थिए । इँट्टाभट्टामा बिहानदेखि बेलुकासम्म काम गरेबापत दैनिक रु एकसय ज्याला पाउने गरेको उनले बताए ।

जिल्ला बालकल्याण समिति भक्तपुरले उद्धार गरेका ती बालकलाई बाल विकास समाज भक्तपुरका कर्मचारी विदुर नेपालले जिल्ला बाल कल्याण समिति, रोल्पाको रोहवरमा बालकका अभिभावकलाई बुझाएको थियो । बाबु वैदेशिक रोजगारीमा गएका तथा आमाले दोस्रो विवाह गरेका रोल्पाका अधिकांश बालबालिका तथा सहाराविहीन टुहुरा बालबालिका मजदुरका रुपमा काठमाडाँै र भक्तपुरका विभिन्न इँट्टा कम्पनीमा रहेको बाल अधिकारकर्मी विदुर नेपालले बताउनुभयो ।

जिल्ला बालकल्याण समिति, रोल्पाले विभिन्न क्षेत्रसँग समन्वय गरी हालसम्म रोल्पाका १२ बालबालिकालाई इँट्टाभट्टाबाट फिर्ता गरेको जिल्ला बालकल्याण समिति रोल्पाका कपिलदेव भण्डारीले बताउनुभयो ।

गरिबी र असहज पारिवारिक वातावरणका कारण रोल्पाका अधिकांश बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य भएको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।