खोलानजिकै मृत फेला

कपन अनलाइन 

त्रिशूली, ९ चैत । ककनी गाउँपालिका–चतुरालेका अमरराज लामिछाने मृत अवस्थामा भेट्टिएका छन् । सोमबारदेखि नै घरबाट सम्पर्कविहीन भएका ४५ वर्षीय लामिछाने मंगलबार बिहान विदुर नगरपालिका–५ मितेरी खोलानजिकै मृत अवस्थामा भेटिएको नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो ।

स्थानीयवासीले देखेपछि पुगेको प्रहरीको टोलीले घटनास्थलमा नै लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो । मृतकका आफन्तले घटना रहस्यमय रहेकाले अपराध भएको हुनसक्ने भन्दै प्रहरीसमक्ष गहन अनुसन्धान गर्न माग गरेका छन् । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाए पनि के कारणले मृत्यु भएको प्रतिवेदन भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, इलामको सूर्याेदय नगरपालिकाका एक व्यक्ति मङ्गलबार मृत अवस्थामा भेटिएका छन् । सूनपा–१३ निवासी ४५ वर्षीय भीम दर्नाल मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार घरबाट निस्किएका दर्नालको शव भिरबाट धेरै तल झरेको अवस्थामा स्थानीयवासीले भेटेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले शव निकाल्न कठिनाइ भएको प्रहरी निरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।

उनको लडेर मृत्यु भएको हो या हत्या भएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।