रेडक्रस गतिविधि सार्वजनिक

कपन अनलाइन 

रसुवा, २८ फागुन । छब्बिसौँ जिल्ला सभाका अवसरमा रेडक्रस रसुवाले मानवीय सेवामा पु¥याएका सबै प्रकारका गतिविधि प्रतिवेदनमार्फत शुक्रबार सार्वजनिक गरेको छ ।

सांसद छोवाङ तेन्जिङ तामाङ, प्रजिअ चोमेन्द्र न्यौपाने, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे तथा प्रमुख राजनीतिक दल, गैसस, रेडक्रसकर्मीसमेतका प्रतिनिधि उपस्थित रहेको सभामा भूकम्पपछि मानवीय उद्धार, उपचार, राहत, सुत्केरी र गर्भवतीका लागि सामग्री वितरण जस्ता विवरण प्रस्तुत भएको रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङले बताउनुभयो ।

स्वच्छ खानेपानी तथा सरसफाइ, प्राथमिक उपचार, मनोसामाजिक सहयोग तालिम, महिला स्वयम्सेविकालाई आवश्यक सामान, आमाहरूलाई न्यानो झोला र विद्यालयलाई जस्तापाता वितरण, पुनर्निर्माणमा अभिमुखीकरण कार्यक्रम, सुधारिएको चुलो हस्तान्तरण, पुनर्निर्माणका लागि चार सय ११ धुरीलाई आवासको पहिलो किस्ता वितरण, शौचालय निर्माणजस्ता थुप्रै कार्यक्रम सम्पादन गरिएको जानकारी गराइएको थियो ।

कार्यक्रममा रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विपद्का बेला जस्तोसुकै अवस्थामा पनि रेडक्रसकर्मीलाई थप उत्साहित भएर उद्धार प्राथमिक उपचार र तत्काल राहतको व्यवस्थापनमा अगाडि बढ्न निर्देशन दिनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।