बुनपा मेयरमा राजु श्रेष्ठ वा कुसुम कार्की !

कपन अनलाइन, काठमाडौँ । शनिवार विशेष राजनीति/केशव पाठक ।  पछिल्ला दुईदिनभित्रमा काठमाडौं क्षेत्र नं. ४ का नेका र एमाले प्रमुखसँग अप्रत्यासित भेट भयो । राजु श्रेष्ठ र कुसुम कार्की दुवैसँगको भेट अत्यन्त संयोगात्मक थियो । संयोगात्मक छोटो भेटमा स्थानीय निकाय चुनावका बारेमा दुवैजनासँग केही गफ हुन भ्याएँ । दुई परस्पर बिरोधी राजनीतिक शक्तिहरु कांग्रेस र एमालेका क्षेत्र प्रमुख रहेका यी दुई पात्रलाई एउटै लेखमा समाहित गर्न मन लाग्यो । यो लेखले समेट्न खोजेको प्रयास क्षेत्र नं. ४ र बुनपाको राजनीतिमा चासोको विषय पनि हो ।

 
सरकारले स्थानीय निकाय चुनावको घोषणा गरेपछि क्षेत्र नं. ४ का कांग्रेस र एमालेका केही नेताहरुले हताश भएर आफ्नो नामहरु सामाजिक संजालमा मेयर पदको उम्मेदवार हुँ भनेर दावी गर्न भ्याएका प्रति उनीहरु खासै सन्तुष्ट देखिएनन् । पार्टीका मै हूँ भन्ने मान्छेले सामाजिक संजालमा लेख्न वा अनलाइन समाचारमा आफ्नो फोटो छाप्न लगाउनु र त्यसबाट आएका प्रत्येक प्रतिक्रियालाई राजु र कुसुम मौन अनि गम्भीर भएर हेरिरहेका छन् ।

 

 

केशव पाठक
दृष्टिकोण

श्रेष्ठ र कार्की दुवै राजनीतिलाई विकाससँग वकालत गर्दै आएका व्यक्ति हुन् । उनीहरुले जति पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् राजनीतिका अलावा विकासका र पूर्वाधारका विषयमा केन्द्रित हुने गर्छन् । यी दुवैजना विकासका लागि राजनीतिक गर्न सक्ने व्यक्ति पनि हुन् । मेरो छोटो भेटमा पार्टीको पनि जिम्मेवार पदमा रहेका श्रेष्ठ र कार्कीले विकासे योजना बुनिरहेका झैँ लागे ।

 

 

दुईवटा निर्वाचन क्षेत्रभित्र पर्ने बुनपाको क्षेत्र नं. ४ ले धेरै जनसंख्या, भूगोल र वडाको प्रतिनिधित्व गर्दछ । यही कारणले बुनपा भन्नाले धेरैले क्षेत्र नं. ४ नै पनि बुझ्ने गर्दछन् । करिब ४२ हजार मतदाता, वार्षिक ३२ करोड बजेटलगायत बिबिध विषयले यो नगरपालिकाको मेयर धेरै हदमा सांसदभन्दा पनि शक्तिशाली हुनेछ । यो कुराको भलिभाँती जानकार राख्दछ् राजु र कुसुम ।

 

 

राजु श्रेष्ठ क्षेत्र नं. ४ मा चिनिएका नाम हुन् । गएका संबिधानसभा निर्वाचन उनी प्रत्यक्षरुपमा समानुपातिक उम्मेदवारको रुपमा सहभागि भएकाले उनले गर्ने हरेक काम अर्थपूर्ण हुने गरेको छ । सांसद गगन थापाको कट्टर बिरोधी बनेको राजुको पृष्ठभूमिसँग पछिल्ला वर्षमा राजधानीको लामो समय टिक्ने नेवार नेताको रुपमा पनि लिन गरिन्छ । पार्टी सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग समदुरीले उनलाई गगन विरोधी बन्न मात्र हैन काठमाडौँका नेता बन्न पनि सहयोग पुगिरहेको धेरैले बताउँछन् ।

 

 

त्यसैले यो स्थानीय निकाय चुनावमा उनले गर्ने निर्णय, पात्र चयन र सन्तुलन आफैमा महत्वपूर्ण र चुनौतिपूर्ण छ । राजुले आफ्ना निकट मानिएका गोकर्ण केसीलाई मेयर उम्मेदवार बनाउन चाहेको हल्ला चले पनि उनले मुख फोरेका छैनन् । यो मुख नफोर्नुको अर्थ सम्भवतः गोकर्ण केसीले टिकट पाए भने कांग्रेस जीत होला वा नहोला भन्ने दोधार होला उनमा । यो बाहेक राजुले राजाराम बुढाथोकी तथा आत्माराम पौडेलमध्ये एकलाई छान्ने कुरा पनि चिया गफमानै सिमित भएको बेला राजुले यो चुनावमा पार्टी हेर्छन् वा गुट हेर्छन् भन्ने विषयलाई पनि धेरैले आंकलन गरेर हेरेका छन् । यो सँगै उम्मेदवार छनौटको क्रममा क्षेत्र नं. ५ का सभापति रमेश खड्कासँग उनको सहकार्यको कुरो पनि अर्थपूर्ण रहन्छ । यस प्रशंगमा गोकर्ण केसीको रमेश खड्कासँगको सानिध्यता आफैमा महत्वपूर्ण विषय रहेको छ ।

 

 

महांकाल गाविसको अध्यक्ष पदमा राम्रो काम गरेर विकासे नेताको छवि बनाएका कुसुम कार्की समझदार र अर्थपूर्ण निर्णयका पर्याय मानिन्छन् । बोलेर बिझाउनुभन्दा गरेर देखाउने स्वभावका कुसुम कार्की क्षेत्र नं. ४ मा अध्यक्ष हुँदादेखि नै उनलाई शक्तिशाली मानिएको थियो । उनको जीतसँग एमालेभित्रको माधव नेपाल गुटको छविमात्र उज्यालिएको थिएन अर्काे गुटको सर्वसत्तावादी चरित्र पनि नांगिएको थियो । कार्कीलाई क्षेत्र नं. ४ को उज्ज्वल भविष्य भएको नेताको रुपमा लिने गरिएको छ ।

 

अनुभव, अध्ययन तथा पार्टी लाइनका हिसाबले समेत मजबुत रहेका कुसुम कार्कीले बुनपाको मेयरमा कसरी सुझबुझपूर्ण निर्णय लेलान् भन्ने सबैको चासो रहेको छ । टिकट बाँड्ने काम पार्टी स्थायी समितिको भए पनि क्षेत्र तथा जिल्लाको सिफारिसको महत्व हुने गर्दछ । एमालेमा तत्काल नगरपालिकाको मेयरमा संभावित नामहरुमा विदुरविक्रम खड्का, बालकृष्ण श्रेष्ठ, उद्धब खरेल, दीपक निरौलालगायतका नामहरुबीच उनले गर्ने निर्णय वा उनले पार्ने प्रभावको प्रतिक्षामा सिंगो क्षेत्र नं. ४ र बुनपा रहेको छ ।

 

बुनपाको मेयर पदका लागि नेपाली कांग्रेसबाट आशा गरिएका वा नगरिएका यावत् नामहरुमा बुनपाजस्तो महत्वपूर्ण निकाय हाँक्ने र यसलाई गति दिने उम्मेदवार हुन सक्ने नामहरु कमै छन् । प्रोटोकलकै हिसाबले पनि राज्यमन्त्री सरहको महत्व राख्ने यो पदमा राजु श्रेष्ठ जति महत्वपूर्ण र अर्थपूर्ण कोही उम्मेदवार नहुन सक्छ । चक्रपथमा भएको छोटो भेटमा राजुले मेरो यस कुरालाई गम्भीर भएर सुने । जवाफ दिएनन् । तर उनको अनुहारमा देखिन्थ्यो यो बुनपाको मेयर साँच्चै अर्थपूर्ण पद हो, यो पदका लागि आफूले गर्ने निर्णयले आगामी दशवर्ष कांग्रेसको राजनीतिको सबाल बन्ने छ ।
बुनपा नेपाली कांग्रेसमा नेता नभएका हैनन् । तर जित्ने नेताको रुपमा राजु श्रेष्ठ जति शक्तिशाली कोही नभएको तर्क धेरैको छ । क्षेत्रीय सभापति भएका कारण पार्टीलाई जिताउने सबालमा रथ राजु आफैले हाँक्नु पर्ने अवस्था सिर्जन सक्ने अनुमान बढ्दो छ । श्रेष्ठ मेयर पदमा उठ्दा मेयर पदको मर्यादामात्र हैन पार्टीको छविसमेत उज्यालिने कुरामा शंका छैन ।
शान्त र भद्र स्वभावका एमाले नेता कुसुम कार्की बुनपाभित्रका यावत् नेताहरुमध्ये विकासे राजनीतिमा सबैभन्दा अर्थपूर्ण मानिने कुरामा बहस गरिरहनु पर्ने अवस्था छैन । क्षेत्रीय अध्यक्षसमेत भएकाले बुनपाको चुनावमा एमालेको हैसियत मापनको ठूलो आधार पनि हो । माहांकाल गाविसबाट राजनीति गरेर विकासका थुप्रै आधार तयार पारेका कारण तथा कपनसँग राम्रो सानिध्यताले पनि कुसुम कार्की आफै बुनपा मेयर उठ्नु अरुको भन्दा बढि भोटको आधार तय गर्नु हो भन्ने कुरामा दुईमत छैन ।
कार्कीको राजनीतिक उचाई, प्रभावशाली व्यक्तित्व र जनाधारलाई मेयरको रुपमा अगाडि बढाउँदा संभवतः बुनपाको लागि अर्थपूर्ण निर्णय हुनेछ । कपनको ह्याण्डबलचौरनजिक अप्रत्याशित भेटिएका कुसुम कार्की बुनपामा विजयको आधार तय गर्ने शुरुमा थिए झैँ लाग्दथ्यो ।
आशा गरौँ, क्षेत्र नं. ४ र बुनपाको पार्टी राजनीतिमा महत्पूर्ण पदमा रहेका राजु श्रेष्ठ र कुसुम कार्की दुवैले पार्टीको साखलाई उजिल्याउने गरी स्थानीय निकाय चुनावमा काम गर्नेछन् । उनीहरुले गर्ने निर्णयले आगामी १० वर्ष आफ्नो पार्टीलाई बुनपामा मजबुत बनाउन सहायक सिद्ध हुनेछ ।

तपाइँको प्रतिक्रिया ।