निर्वाचनमा लाग्न मन्त्री बुढाथोकीको आग्रह
कपन अनलाइन
इलाम, १८ फागुन । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले अहिले स्थानीय निकाय र स्वास्थ्य क्षेत्रका कर्मचारीले गरिरहेको आन्दोलनलाई सरकारले गम्भीररूपमा लिएको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) इलामले मङ्गलबार सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले कर्मचारीको जायज मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री बुढाथोकीले अब हुने सङ्घीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्नका लागि सरकार लागिपरेको र स्थानीय निकायको संरचनामा कर्मचारीलाई कुनै पनि किसिमको अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिने पनि बताउनुभयो ।
उहाँले कार्यालयको कामकाजप्रति जिम्मेवार बन्दै सेवाग्राहीलाई सहज र छिटो ढङ्गले सेवा दिन पनि कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । एक फरक प्रसङ्गमा मन्त्री बुढाथोकीले सरकारले घोषणा गरेकै मितिमा स्थानीय तहको निर्वाचन हुने दाबी गर्दै दुई दशकको अन्तरालमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सक्रिय भएर लाग्न सबैलाई आग्रहसमेत गर्नुभयो ।
“संविधान कार्यन्वयनका लागि पनि तोकिएको मितिमा तीनै तहको निर्वाचन अपरिहार्य छ”, मन्त्री बुढाथोकीले भन्नुभयो, “धेरै ठूलो बलिदानीपछि बनाइएको संविधान कार्यान्वयन गर्नका लागि पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्नैपर्ने दायित्व छ ।”
स्थानीय तहको निर्वाचन भएपछि विकास निर्माणका कामले गति लिने भएकाले यस निर्वाचनलाई सफल बनाउनका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । चुनावी घोषणासँगै देश चुनावमा होमिइसकेको बताउँदै मन्त्री बुढाथोकीले यसलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । रासस