कपन कांग्रेसले कृयाशिल भेला आयोजना गर्यो

देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक भनिने पार्टी नेपाली कांग्रेस आन्तरिक कलहका कारण देशभरनै कमजोर बन्दै गैरहेको छ । गिरिजाप्रसाद कोइरालाको निधनपछि चुलिएको आन्तरिक विवाद साम्य हुने लक्षण नदेखिँदा यसको असर पार्टी तल्ला निकायसम्म जरो गाड्दै गएको पाइन्छ ।
नेपाली कांग्रेस कपन इकाई यस्तै आन्तरिक विवादका कारण लामो समयदेखि समस्याग्रस्त रहेको छ । पार्टी विभाजनको बेलादेखिका समस्या यहाँ अझै ज्यूँको त्यूँ रहेका आभास गर्न सकिन्छ । कपन ने.का. मा नेता धेरै कार्यकर्ता कम भएकाले पनि एक नेताले अर्कालाई पछार्ने खेल बढि हुने गरेको सार्वजनिक सरोकारवालाहरु बताउने गर्छन् ।
यही प्रसंगमा कपन ने.का.ले करिब २ वर्षपछि कृयाशिल भेलको आयोजना गर्यो । आर्थिकलगायत विभिन्न प्रतिवेदनका साथै कपन कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आयोजित कार्यक्रममा ने.का. केन्द्रिय सदस्य गगन थापा प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए । बोलाइएको समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको कार्यक्रममा करिब ८० जना कृयाशिल सदस्यहरुको सहभागिता थियो । कपन ने.का. को करिब १४० कृयाशिल सदस्य रहेका छन् ।
भेलामा अधिकांश सहभागिले पार्टीको सांगठनिक कृयाशिलताको अभाव भएको औल्याएका थिए । पार्टीमा नेतृत्व गर्नेहरु एकअर्कामा आरोप प्रत्यारोपमा व्यस्त भएकोले संगठन कमजोर भएकोले पार्टीलाई कमजोर नबनाउन नेतृत्वलाई आग्रह गर्ने सहभागिहरु धेरै थिए । विशेषगरी वर्तमान कपन इकाई सभापति विनोद चालिसे र पूर्व सभापति राजाराम बुढाथोकीबीच हुने अनबनका कारण पार्टीको इज्जत बेलाबेलामा जाने गरेकोले उनीहरुलाई सच्चिएर एक भएर अगाडि बढ्नका लागि सहभागिहरुले दवाब दिएका थिए ।

भेलामा प्रमुख अतिथि भएर आएका गगन थापाले पनि पार्टी अगाडि बढाउन झिनामसिना समस्यालाई नजरअन्दाज गरेर पार्टीको संगठन विस्तारमा एक भएर जान सबै नेतृत्व कर्ता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । भेलालाई क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।