फूल र रंगको विविधताजस्तै रहिरहोस् हाम्रो देश

 जसरी हाम्री चेलीले हामीलाई लगाइदिने सातवटा रंगका आ–आफ्नै महत्व छन्, उसैगरी यो समाजका सबै जात, वर्ग र धर्मको उत्तिकै महत्व छ । सबैको आ–आफ्नै अस्तित्व छ । त्यसैले यदि कसैले एउटा रंग मन नपरेको नाममा चेलीले लगाइदिने टीको अस्वीकार गर्दैन, उसैले हामीले हाम्रो समाजको यो विविधतालाई अस्वीकार गर्नै सक्दैनौं ।

लेखक:-विश्वमणि सुवेदी
जातीय पहिचानका नाममा यी सद्भावलाई बिथोल्ने र हाम्रो फूलबारी फाँडेर अरु कसैको सेवा गर्ने नियतका गद्दारहरु अहिले देशमा छाप्छाप्ती बढेका छन् । प्रिय चेलीले आज खबरदारी गर्नुछ, माइती नफूट भनेर ।

तिहारको रौनक शुरु भएको छ । तिहारका आ–आफ्नै शैली छन् । आफ्नै स्वाद छन् । यो फूल र रंगहरुको पर्व हो । फूल केवल बोटमा फूलेका मात्र हुँदैनन् । फूलका अनेकन बिम्ब र प्रतीक छन् । बिम्बात्मक रुपमा पनि यो तिहारको महत्वबोध गर्नु आज जरुरी भएको छ ।

मुख्यतः हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक फूलबारी हो । अनेकन फूल हाम्रो समाजमा छन् । त्यसैले फूलहरुको यो पर्वले हामीलाई विविधतामा एकता खोज्न प्रेरित गरोस् । चेलीले माइतीको निधारमा लर्काउने सप्तरंगी टीका केवल औपचारिकतामात्र हैन । माइती बलले सम्पन्न, धनले सम्पन्न र मनले सम्पन्न हुँदा प्रत्येक चेलीले आफूलाई बल, धन र मनले सम्पन्न भएको अनुभूति साँच्छिन् । र, ती चेलीले देश पनि बल, धन र मनको समुन्द्र बनोस् भन्ने चाहन्छिन् । केवल हिन्दूको कुरा मात्र हैन, चेली सबैका चेली नै हुन् ।बाहुनलाई चेली प्यारो लाग्ने, मतवालीलाई चेली प्यारो नलाग्ने कुरै छैन । जात र संस्कृतिको बन्धन कम्तिमा यस्ता नातामा छैन । भूगोल र वर्णले यी नातालाई कुनै प्रभाव पार्दैन । त्यसैले फूलको यो बगैंचामा रंगका विविधतासँगै हामीले देशको सम्पन्नता, एकता र सुढृढ राज्य व्यवस्था चाहनु स्वभाविक हो । जातीय पहिचानका नाममा यी सद्भावलाई बिथोल्ने र हाम्रो फूलबारी फाँडेर अरु कसैको सेवा गर्ने नियतका गद्दारहरु अहिले देशमा छाप्छाप्ती बढेका छन् । प्रिय चेलीले आज खबरदारी गर्नुछ, माइती नफूट भनेर । विदेशीको पैसा ल्याऊ, चेलीलाई आशिष देऊ र दक्षिणा पनि त्यही विदेशी पैसा देऊ । तर, विदेशी पैसा बोकेर माइतीघर भाँड्ने दुष्प्रयत्न नरुन् । शायद, आम नेपाली चेलिबेटीको कामना हो यो ।

जसरी हाम्री चेलीले हामीलाई लगाइदिने सातवटा रंगका आ–आफ्नै महत्व छन्, उसैगरी यो समाजका सबै जात, वर्ग र धर्मको उत्तिकै महत्व छ । सबैको आ–आफ्नै अस्तित्व छ । त्यसैले यदि कसैले एउटा रंग मन नपरेको नाममा चेलीले लगाइदिने टीको अस्वीकार गर्दैन, उसैले हामीले हाम्रो समाजको यो विविधतालाई अस्वीकार गर्नै सक्दैनौं । गर्नु हुँदैन । गर्ने दुस्साहस जसले गर्छ, तिनलाई हाम्रा चेलीले सराप्ने छन् । अरुको सराप लाग्ला, नलाग्ला चेलीको सराप त लाग्छ लाग्छ । त्यसैले एउटा जातको पहिचानका नाममा हाम्रो समाजिक सद्भाव बिथोल्न खोज्ने गद्दारहरुलाई हामीले बेलैमा खबरदारी गरौं । शुभ दीपावली २०६९ को यस महान अवसरमा समस्त दाजुभाइ तथा दिदीबहिनीमा यो पंक्तिकार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

E-mail: [email protected]

(लेखक जनआस्थाका प्रमुख संवाददाता तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

तपाइँको प्रतिक्रिया ।