स्थानीय निकाय कर्मचारीको आन्दोलनले कागेश्वरी महोत्सव प्रभावित(कागेश्वरीको फोटो फिचर)
कपन अनलाइन, काठमाडौँ । कर्मचारीले स्थानीय निकाय बन्द गर्दा फागुन ७ गते उपत्यकाको प्रसिद्ध कागेश्वरी मन्दिर क्षेत्रमा हुन लागेको कागेश्वरी महोत्सव प्रभावित हुने संभावना बढेको छ । कागेश्वरी पर्यटन महोत्सव आयोजक कमिटिले स्थानीय कागेश्वरी मनोहरा नगरपालिकाले महोत्सवलाई छुट्याएको रकम निकासा नगर्दा कार्यक्रम तयारी प्रभावित भएको बताएको छ ।
आयोजक कमिटिका अध्यक्ष धनबहादुर लामाले कपन अनलाइनलाई बताए अनुसार कागेश्वरी मनोहरा नगरपालिकाले महोत्सवका लागि छुट्याएको रु. ४ लाख नै निकासी नहुँदा ऋण गर्न पर्ने अबस्था आएको बताए । लामाले कागेश्वरी क्षेत्र धार्मिक पर्यटनको रुपमा देशमा विख्यात बनाउनका लागि आयोजना गरिए पनि सम्बन्धित निकायबाट सक्रिय सहभागिता हुन नसकेको गुनासो गरे । यद्यपि सहकारीबाट ऋण लिएर पनि महोत्सव भने सफल बनाउन आफ्नो कमिटि सक्रिय रहेको अध्यक्ष लामाको भनाई थियो ।
फागुन ७ गते पूर्व सभामुख सुवास नेम्वाङबाट महोत्सवको उद्घाटन गरिने जानकारी दिँदै आयोजक कमिटिका सचिव धावा लामाले महोत्सव उद्घाटन पूर्व लोकतान्त्रिक सहिद उद्यान गागल चिहान डाँडामा धातुको काग राखिने स्थल सिलान्यास गरिने बताए । सचिव लामाले महोत्सवमा काग सम्मेलन गरिने पनि जनाए । महोत्सवका लागि सांस्कृतिक झाँकीलगायतको कार्यक्रम तयारी भैरहेको लामाले बताए । महोत्सवका लागि काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयाँलको सांसद कार्यालयबाट पनि बजेट बिनियोजित भएको उनले बताए ।
कागेश्वरी महोत्सवले यस तीर्थस्थलको महत्वलाई जनसामान्यमा पुर्याउने आयोजक समितिको विश्वास छ यद्यपि संचारमाध्यमले त्यति ठूलो चासो नदेखाएको गुनासो पनि समितिले अनुभव गरेको छ । आयोजक समितिले फागुन ७ गते १० हजार भन्दा धेरै मानिस कागेश्वरीमा भेला हुने अनुमान गरेको छ ।
फोटो: आशिष गुरागाइँ